मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालो
काठमाडौँ। नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडिए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ ।
क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आइतबार दुवै संस्थाको उच्च नेतृत्व तहबीच एक महत्वपूर्ण ‘संस्थागत गठबन्धन छलफल’ सम्पन्न भएको हो ।
बैठकमा विशेषगरी नेपालको मोबाइल क्षेत्रले भोगिरहेको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल (ग्रे मार्केट) का चुनौतीहरू र समग्र हार्डवेयर तथा मोबाइल इकोसिस्टमको नियमनका विषयमा विस्तृत छलफल भएको थियो ।
दुवै संस्थाका कार्यसमितिबीच कार्यदिशा संरेखण गर्ने, नीतिगत पैरवी, ग्रे मार्केट समस्या र मोबाइल इकोसिस्टम नियमन जस्ता साझा चुनौतीहरूमा काम गर्ने तथा संयुक्त सहकार्यका लागि दीर्घकालीन रोडम्याप तयार गर्ने मुख्य एजेन्डाहरूमाथि यस बैठकमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
बैठकमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी र एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले संयुक्त रूपमा यो सहकार्यले नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा बलियो दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यवाहक अध्यक्ष अधिकारीले मोबाइल तथा प्रविधिको क्षेत्र देशकै अर्थतन्त्रको मेरुदण्ड बनिसकेको अवस्थामा यस भित्रका बेथिति अन्त्य गर्न दुवै संस्थाको सहकार्य अपरिहार्य रहेको बताए। अवैध आयात (ग्रे मार्केट) ले राज्यको राजस्व गुम्नुका साथै वैधानिक व्यवसायीहरू मर्कामा परेको हुँदा यस विरुद्ध संयुक्त पैरवी गरिने उनको भनाइ थियो ।
त्यस्तै, एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जस्ता प्रणालीको प्रभावकारी कार्यान्वयन र व्यावहारिक आयात नीतिका लागि क्यान महासंघसँगको यो गठबन्धनले ठूलो ऊर्जा दिएको उल्लेख गर्नुभयो ।
यस सहकार्यको गम्भीरता र भावी योजना कार्यान्वयनको बलियो आधारलाई दर्शाउने गरी बैठकमा दुवै संस्थाका तर्फबाट शीर्ष नेतृत्वको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी, महासचिव, कोषाध्यक्ष तथा १५ औँ कार्यसमितिका सदस्यहरूका साथै नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशनका अध्यक्ष रघु त्रिपाठी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।













