बैंकमा थुप्रिएको लगानीयोग्य पैसा १३ खर्ब नजिक, इतिहासका सबै ‘रेकर्ड ब्रेक’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकमा थुप्रिएको लगानीयोग्य पैसा १३ खर्ब नजिक, इतिहासका सबै ‘रेकर्ड ब्रेक’



काठमाडौँ । सरकारले नयाँ बजेटमार्फत् कर छुटहरु दिए पनि व्यापक लगानी विस्तार गर्ने खालका उल्लेखनीय परियोजना अघि सार्न नसकेकै बेला बैंक तथा वित्तीय संस्थामा भने इतिहासकै सबैभन्दा धेरै तरलता (लगानी योग्य रकम) थुप्रिएको छ ।

अहिले केन्द्रीय बैंक र बाँकी बैंक तथा वित्तीय संस्थामा गरी कुल १२ खर्ब ८७ अर्बभन्दा ज्यादा अधिक तरलता थुप्रिएको बैंकरहरुले बताएका छन् । यो भनेको नेपालको इतिहासमै बैंकहरुमा थुप्रिएको सबैभन्दा ज्यादा रकम हो ।

राष्ट्र बैंकले गत जेठ १२ भन्दा पछिको दैनिक तरलता अवस्थाबारे तथ्यांक सार्वजनिक गरेको छैन । लगातार सार्वजनिक विदा परेका कारण यस्तो भएको छ । त्यसैले बजेट आउनुभन्दा तीन दिन अघिको अवस्थामा केन्द्रीय बैंकले बजारबाट खिचेर राखेको अधिक तरलताको आकार नै १० खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो ।

त्यतिबेला सबैभन्दा धेरै निक्षेप संकलन उपकरणमार्फत् ७ खर्ब ९२ अर्ब ५ करोड रुपैयाँ उठाएको थियो भने स्थायी तरलता सुविधा अन्तरगत ५७ अर्ब ५० करोड र राष्ट्र बैंक ऋणपत्रहरुमार्फत् २ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तानेको थियो ।

१२ गते साँझसम्म बैंकहरुमा अधिक तरलता (सम्पूर्ण रिजर्भ कटाएर) ४२ अर्ब हाराहारीमात्रै थियो । तर त्यसपछि बैंकमा थुप्रिएको निक्षेप राष्ट्र बैंकले तानेको छैन । त्यसैले अहिलेसम्म बैंक तथा वित्तीय संस्थामा २ खर्बभन्दा ज्यादा अधिक तरलता थुप्रिएको बैंकर बताउँछन् ।

यसै कारण अब बैंकमा जम्मा भएको पैसा सोमबार अर्थात् आजैमात्र केन्द्रीय बैंकमा स्थायी निक्षेप सुविधामा जान सक्छ ।

बैंकमा निक्षेप बढिरहने, तर लगानी गर्न कोही पनि तयार नहुने अवस्थाका कारण यस्तो भएको हो । लामो समयसम्म व्याजदर तल्लो स्तरमा बस्दा पनि सरकारप्रतिको विश्वास बढ्न नसकेको, लगानी गरेर नाफा कमाइन्छ भन्ने आत्मबल लगानीकर्तामा नभएको जस्ता कारणले यो अवस्था आएको हो ।

यद्यपि, फेरि पनि लगानीकर्तालाई विस्वस्त पारेर यो पैसाको सही परिचालन गर्नेतर्फ अहिलेको सरकार ज्यादा सजग नदेखिएको बैंकरले बताएका छन् ।

भर्खरै आएको बजेटले बैंकिङ क्षेत्रमा थुप्रिएको पैसालाई परिचालन गर्ने गरी आर्थिक गतिविधी गर्न उत्प्रेरित नगर्ने उनीहरुले बताए । सरकारले त बरु पुराना कर इत्यादी विवादहरुबाट मुक्ति दिएर व्यवसायीलाई लगानी अन्यत्र लैजान बाटोमात्रै खोलेको पो हो कि जस्तो पनि देखिने एक बैंकरले बताए ।

‘यदी नेपालमै लगानी विस्तार गर्ने उत्प्रेरित गरेको भए त्यसै अनुसारका नीति र कार्यक्रम हुनुपर्ने थियो । पुराना लफडाबाट मुक्ति दिनु ज्यादै राम्रो हो, तर त्यसपछि के गर्ने त भन्दा केही पनि छैन’ ती बैंकरले भने ।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधी सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै ‘हामीलाई अहिले आत्मविस्वासभन्दा पनि पैसा चाहिएको छ, हामी पैसा जुटाउने प्रयासमा छौँ’ भन्ने अभिव्यक्ति दिएपछि त बैंकरहरु झनै अचम्ममा परेका छन् । देश भित्र यतिधेरै पैसा थुप्रिँदा त्यसको सदुपयोग गर्ने र बजारलाई चलायमान बनाउने दिशामा नलागी थप पैसा खोजिरहनुले परिणाम नदिने उनीहरु बताउँछन् ।

‘आज हाम्रा व्यवसायीहरु नै केही चिज आँट गरेर उत्पादन गर्यो वा व्यापार थाल्यो भने त्यो व्यवसाय चल्छ र विक्री हुन्छ भन्नेमा विस्वास गर्न सकिरहेका छैनन्’ ती बैंकर भन्छन्, ‘अनि बजारको यस्तो हालत भएका बेला विदेशी पूँजी कसरी आउला ? पूँजी आकर्षित गर्न न पहिले बजारलाई चलायमान बनाउनु पर्ला नी । पूर्वाधारहरु त तयार हुनुपर्ला ।’

बैंकरहरु सरकारको यस्तो प्रवृत्तिले आगामी दिनमा अधिक तरलताको यो कीर्तिमानी अंक पटक पटक तोडिनसक्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्