ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिकहरू पक्राउ परेका छन्।
भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत अवैध गतिविधि गरिरहेको गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा १९ वर्षदेखि ३० वर्ष उमेर समूहका बंगलादेशी नागरिकहरू एमडी माजिदुल इस्लाम रिदोय, साफिउल इस्लाम, अपोन चन्दा साहा, अब्दुल्लाह अल जोबाएर, अबुल हस्नाई, अल शाहरियार, फैसल र आजाद हुसेन रहेका छन्। त्यसैगरी एमडी अजमैन, एमडी तामिम हसन सौरभ, एमडी जकारिया जन्नात, साकिल अनवर, हरजोत विलाल राफत, ओमित हसन सेकात र एमडी इसमाम हसन स्वाधीन पनि पक्राउ परेका छन्।
अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अनुसन्धानका क्रममा प्रहरी टोलीले गत २०८३ जेठ १५ गते काठमाडौँ महानगरपालिका वडा नं. १६ पकनाजोलस्थित होटल एएसमा छापा मारेको थियो। उक्त होटलको चौथो, पाँचौँ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिई उनीहरू बस्दै आएका थिए।
पक्राउ परेका बंगलादेशी नागरिकहरूले सामाजिक सञ्जाल फेसबुकमा विदेशी मोडल तथा युवतीहरूको ‘फेक अकाउन्ट’ (नक्कली खाता) बनाउने गरेका थिए। त्यही नक्कली खातामार्फत विशेष गरी बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी (फ्रेंड) बनाई कुराकानी गर्ने र पछि ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा उनीहरू संलग्न रहेको अवस्थामा फेला परेका हुन्।
पक्राउ परेका सबै १५ जनालाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।













