ड्रोन आक्रमण र प्रतिबन्धको चक्रव्यूहमा रूसी अर्थतन्त्र: किन युद्ध रोक्न दबाब दिइरहेका छन् उद्योगीहरू?
काठमाडौं। लामो समयदेखि जारी युक्रेनसँगको युद्धका कारण रूसको अर्थतन्त्र तीव्र गतिमा सुस्त बन्दै गएको छ। युक्रेनी ड्रोन आक्रमणहरूका कारण रुसका तेल प्रशोधन केन्द्र, रासायनिक मल कारखाना र बन्दरगाहहरूमा ठूलो क्षति पुगेपछि त्यहाँको ३ ट्रिलियन डलरको अर्थतन्त्र संकटमा परेको हो।
राष्ट्रपति भ्लादिमिर पुटिनले आर्थिक वृद्धिलाई पुनर्जीवित गर्ने उपायहरूको खोजीका लागि युद्धकालीन पाँचौं ‘सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च’ को उद्घाटन गरिरहँदा यस्तो तथ्य बाहिर आएको छ। यस मञ्चको पूर्वसन्ध्यामा रुसका शीर्ष उद्योगी तथा उच्च वर्गले राष्ट्रपति पुटिनलाई अर्थतन्त्र थप ध्वस्त हुनबाट जोगाउन युक्रेनसँगको युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन्।
रोयटर्सले जुन १ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार, रूसको वस्तु-सञ्चालित अर्थतन्त्र सन् २०२४ मा ४.९ प्रतिशतले बढेकोमा गत वर्ष खस्किएर करिब १ प्रतिशतमा सीमित भएको थियो। सन् २०२६ को पहिलो त्रैमासिकमा भने अर्थतन्त्र ०.२ प्रतिशतले ऋणात्मक बनेको छ भने चालु वर्ष रूसको आर्थिक वृद्धिदर मात्र ४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
रूसी अधिकारीहरूले यस सुस्तताको दोष उच्च ब्याजदर, प्रतिबन्धहरू र बलियो रूसी मुद्रालाई दिएका छन्। तर, युक्रेनले गरेका ड्रोन आक्रमणहरूले रूसको कुल तेल प्रशोधन क्षमताको २५ प्रतिशत अर्थात् एक चौथाइ भागमा गम्भीर असर पुर्याई अर्थतन्त्रको ठूलो हिस्सालाई ठप्प पारेको छ।
राष्ट्रपति पुटिनले आर्थिक वृद्धि पुनर्बहालीका उपायहरू खोज्न अधिकारीहरूलाई निर्देशन त दिएका छन्, तर त्यहाँका व्यावसायिक नेताहरूले भने यसको उत्तम उपाय युक्रेन युद्धको अन्त्य मात्र भएको बताएका छन्।
अमेरिकाको मध्यस्थतामा युक्रेनसँग हुन लागेको शान्ति वार्ताका सकारात्मक समाचार आउनासाथ रूसी शेयर बजारमा देखिने उत्साहले नै वास्तविक समाधान के हो भन्ने प्रष्ट पारेको रुसी उद्योगीहरू बताउँछन्।
क्रेमलिनका अनुसार सन् २०२५ को फेब्रुअरीमा सुरु भएको शान्ति वार्ता अहिले स्थगित भएको छ, किनकि अमेरिकाको ध्यान हाल मध्यपूर्वको युद्धमा केन्द्रित छ। वार्ता रोकिँदा रूसको अर्थतन्त्रमा आउन सक्ने अर्बौं डलरको सम्भावित अमेरिकी लगानी र प्रतिबन्धहरू खुकुलो पार्ने विषयहरू पनि स्थगित भएका छन्, जसले रूसी व्यापारिक वृत्तमा निराशा थप गहिरो बनाएको छ।
रूसको केन्द्रीय बैंकका पूर्व डेपुटी गभर्नर ओलेग भ्युगिनले दोहोरो अङ्कको उच्च ब्याजदर, युद्धका लागि धन जुटाउन बढाइएको कर र घट्दो लगानीका कारण अब आर्थिक वृद्धिका लागि कुनै नयाँ उपायहरू बाँकी नरहेको टिप्पणी गरेका छन्।
मध्यपूर्वको युद्धका कारण तेलको मूल्य बढेर रूसले पाएको अस्थायी राहत पनि धेरै समय नटिक्ने विश्लेषण छ। १४ करोड जनसङ्ख्या भएको रूससँग भारत वा चीनको जस्तो बलियो आन्तरिक शेयर र ऋण बजार नभएकाले उसले आन्तरिक स्रोतको भरमा मात्र आर्थिक वृद्धि हासिल गर्न सक्ने अवस्था छैन।
उच्च पूँजी, श्रम र सामानको लागतका साथै भारी करका कारण रूसको गैर-सैन्य अर्थात् नागरिक क्षेत्र थिचिन थालेको छ। यसले रूसमा एउटा ‘द्वैध अर्थतन्त्र’ को निर्माण गरेको छ, जहाँ एकातिर अत्यधिक लगानी गरिएको सैन्य उद्योग छ भने अर्कोतिर पूर्ण रूपमा सुस्त बनेको नागरिक क्षेत्र छ।
रूसको अर्थ मन्त्रालय आफैँले देशको बजेट घाटा रेकर्ड गतिमा बढिरहेको स्वीकार गरेको छ भने वस्तु राजस्वमा आएको गिरावटले बजेटमा ठूलो धक्का पुर्याएको छ। मे २०२६ मा क्रेमलिन आफैँले देशको कुल गार्हस्थ उत्पादन वृद्धिदर झण्डै दुई तिहाइले घटेको स्वीकार गरेको छ।
रूसी तथ्याङ्क विभाग ‘रोसस्ट्याट’ का अनुसार १७ हजार भन्दा बढी रूसी कम्पनीहरू घाटामा गइसकेका छन्। सन् २०२५ को ऐन्त्यसम्ममा उनीहरूको कुल घाटा ७.५ प्रतिशतले बढेर ८.९ ट्रिलियन रुबल पुगेको छ, अर्थात् रूसका कुल कम्पनीहरूमध्ये २७.१ प्रतिशत कम्पनीहरू अहिले घाटामा चलिरहेका छन्।
सन् २०२६ को अप्रिल महिनासम्म आइपुग्दा रूसका २२ वटा उद्योगहरू तीव्र सङ्कुचनमा परेका छन्। अचम्मको कुरा त, युद्धसँग सम्बन्धित सैन्य क्षेत्रहरू समेत मन्दीतर्फ धकेलिएका छन्। सरकारी तथ्याङ्क अनुसार बम र गोलाबारुद समेटिने तयारी धातु उत्पादनको विधामा समेत यस वर्षको सुरुवाती दुई महिनामा १.९ प्रतिशतको गिरावट आएको छ।













