नवलपुरमा गुडिरहेको बसबाट १२ लाख ६२ हजार मूल्यको अवैध विदेशी मदिरा बरामद
नवलपुर। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले ठुलो परिमाणमा भन्सार छली गरेर ल्याइएको अवैध विदेशी मदिरा बरामद गरेको छ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. १६ डण्डास्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले नियमित जाँचका क्रममा १२ लाख ६२ हजार ५०० रूपैयाँ बराबरकाे अवैध दिरा बरामद गरेको हो।
भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख १०५१ नम्बरको बसलाई शंका लागेर जाँच गर्दा उक्त मदिरा फेला परेको प्रहरीले जनाएको छ। उक्त बसभित्र बिना बिल भरपाई लुकाईछिपाई राखेको अवस्थामा विभिन्न नाम चलेका ब्रान्डका महँगा विदेशी मदिराहरू प्रहरी टोलीले फेला पारी आफ्नो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त बसबाट ३ लाख १६ हजार ८०० रूपैयाँ बराबरकाे ४८ बोतल ब्ल्याक लेबल, ४७ हजार रूपैयाँ बराबरकाे १६ बोतल रेड लेबल, २ लाख ७७ हजार ३०० रूपैयाँ बराबरकाे ४८ बोतल ब्यालेन्टाइन्स ह्विस्की र ५६ हजार ४०० रूपैयाँ बराबरकाे १२ बोतल एब्सोल्युट भोड्का बरामद भएकाे हाे। यसका साथै १ लाख ४१ हजार ६०० रुपैयाँ बराबरको २४ बोतल ज्यागरमाइस्टर मदिरा समेत गरी जम्मा १२ लाख ६२ हजार ५०० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार बरामद गरिएको उक्त अवैध मदिरा र बसलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि त्रिवेणी भन्सार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बुझाइएको छ।













