बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाले दिए आवेदन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाले दिए आवेदन



काठमाडौँ। नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले खुलाएको आवेदनको अन्तिम दिन आज जेठ १९ गते मंगलबार साँझ ५ बजेसम्म ५० जना आकांक्षीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। मन्त्रालयले गत जेठ १३ गते ७ दिनको म्याद राखेर अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो।

अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा बीमा प्राधिकरणकै ३ जना उच्च कर्मचारीहरू समेत रहेका छन्। प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक पुजन ढुँढुङ्गेल अधिकारी र उपनिर्देशक विरोध भट्टले पनि संस्थाको नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दै आवेदन दिएका हुन्।

विगत १० महिनादेखि प्राधिकरण नेतृत्वविहीन अवस्थामा रहँदै आएको थियो। सरकारले २०८२ असार ३० गते तत्कालीन अध्यक्ष शरद ओझालाई निलम्बन गरेपछि यो पद रिक्त भएको हो। त्यसयता सरकारले सहसचिव र सचिवहरूलाई अस्थायी रूपमा अध्यक्षको जिम्मेवारी खटाएर दैनिक कामकाज सञ्चालन गर्दै आएको थियो।

बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम अध्यक्ष पदका लागि कडा शैक्षिक र व्यावसायिक योग्यता तोकिएको छ। जसअनुसार आवेदकले बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ।

शैक्षिक योग्यताका साथै आवेदकले सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने कानूनी व्यवस्था रहेको छ। अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूको आवश्यक प्रक्रिया पुर्‍याएर योग्य उम्मेदवारहरूमध्येबाट नयाँ अध्यक्ष चयन गर्नेछ।


प्रतिक्रिया दिनुहोस्