१० श्रावण २०८३, आइतबार

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरि ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरि ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाली बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ।

पछिल्लो समय बजारमा कर्जाको माग नबढेपछि बैंक तथा वित्तीय संस्थाहरूमा तरलता फालाफाल भएको हो।

यही स्थितिबीच केन्द्रीय बैंकले आज जेठ २० गते फेरि निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न लागेको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

यो ५६ दिने निक्षेप संकलन उपकरणको आउँदो साउन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।

हाल बजारमा कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशतको हाराहारीको न्यून ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा बुझाउन बाध्य भइरहेका छन्।