२२ अर्बको पोखरा विमानस्थल ब्युँताउन मेयरको दौडधुप: फ्लाइ दुबईका उपाध्यक्षसँग सिधा उडानको लबिङ
काठमाडाैं । लामो समयदेखि ‘बिजनेस’ नपाएर सुनसान बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ब्युँताउन पोखरा महानगरपालिकाले आफ्नो दौडधुप तीव्र पारेको छ।
यही क्रममा विश्वकै अग्रणी हवाई सेवा प्रदायक कम्पनी ‘फ्लाइ दुबई’ का उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज र पोखरा महानगरका प्रमुख धनराज आचार्यबीच मङ्गलबार पोखरामा सिधा उडानका विषयमा गम्भीर संवाद भएको छ।
२२ अर्ब रुपैयाँभन्दा बढीको भारी ऋण लगानीमा बनेको यो विमानस्थल हालसम्म आन्तरिक उडानमै सीमित भइरहँदा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पोखरा भित्र्याउन सिधा लबिङ थालेका हुन्।
भेटवार्तामा उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र एयरलाइन अपरेसनमा दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय अनुभव बोकेका लुकाजले फ्लाइ दुबई पोखराको आकाशमा उत्रिन इच्छुक रहेको संकेत दिएका छन्।
पोखराको प्राकृतिक सुन्दरताबाट प्रभावित भएका सुरक्षा प्रमुख लुकाजले यदि फ्लाइ दुबईले पोखरालाई आफ्नो सञ्जालमा जोड्न सके यहाँको पर्यटन उद्योगमा ठूलो कायापलट आउने दाबी गरे। बैठकमा विशेषगरी दुबई–पोखरा सिधा उडान, पर्यटन प्रवद्र्धनका सम्भावना र अन्तर्राष्ट्रिय उड्डयन सुरक्षाका कडा मापदण्डबारे दुई पक्षबीच गहन समीक्षा भएको थियो।
पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न निरन्तर दबाब बढाउँदै आएका मेयर धनराज आचार्यले विमानस्थलको प्राविधिक सक्षमतामाथि संशय नगर्न आग्रह गरेका छन्। उनले नेपाल सरकारसँग नियमित संवाद भइरहेको र चीनसहितका देशबाट चार्टर उडानहरू सफलतापूर्वक भइसकेकाले पोखरा विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक रूपमा पूर्ण सक्षम रहेको दाबी गरे।
दुई देशबीचको पर्यटन र व्यापार बढाउन सिधा उडान नै एक मात्र विकल्प भएको भन्दै मेयर आचार्यले फ्लाइ दुबईका तर्फबाट मुख्यालयमा विशेष पहल गरिदिन लुकाजसँग आग्रह गरे।
मित्रराष्ट्र चीनको सहयोगमा २२ अर्बभन्दा बढीको लागतमा निर्माण सम्पन्न भई २०७९ पुस १७ गते तामझामका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले साढे तीन वर्ष बितिसक्दा पनि एउटै पनि नियमित अन्तर्राष्ट्रिय उडान पाउन सकेको छैन।
खर्बौँको पूर्वाधार आन्तरिक उडानको भरमा मात्र चल्दा राज्यलाई ठूलो आर्थिक भार परिरहेको छ।
यस्तो पृष्ठभूमिमा फ्लाइ दुबईका उड्डयन सुरक्षा प्रमुखको यो पोखरा भ्रमण र मेयरसँगको भेटवार्ताले पोखरेली जनतामा फेरि एकपटक अन्तर्राष्ट्रिय उडानको नयाँ आशा जगाइदिएको छ।













