बीमा क्षेत्रमा मन्दीको धक्का: रिटेन्ड अर्निङ ९ अर्बमा खुम्चियो, हिमालयन लाइफसहित ३ कम्पनी मात्रै जोगिए - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

बीमा क्षेत्रमा मन्दीको धक्का: रिटेन्ड अर्निङ ९ अर्बमा खुम्चियो, हिमालयन लाइफसहित ३ कम्पनी मात्रै जोगिए



काठमाडौँ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूको संचित नाफा (रिटेन्ड अर्निङ) मा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा क्षेत्रको समग्र नाफा संकुचित हुन पुगेको हो।

विगत र वर्तमानको वित्तीय अवस्थालाई तुलना गर्दा यस वर्ष जीवन बीमा कम्पनीहरूको औषत रिटेन्ड अर्निङमा ३१.६१ प्रतिशतको संकुचन आएको छ। गत आर्थिक वर्षको यसै अवधिमा १४ वटा कम्पनीहरूको कुल रिटेन्ड अर्निङ १४ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा यो आकार घटेर ९ अर्ब ३१ करोड ७१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।

यसरी हेर्दा प्रति कम्पनी औषत रिटेन्ड अर्निङ गत वर्ष १ अर्ब ४ करोड ८३ लाख रुपैयाँ रहेकोमा यस वर्ष ६६ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको देखिन्छ।

१४ मध्ये ११ कम्पनीको नाफामा गिरावट

समीक्षा अवधिमा १४ मध्ये ११ वटा जीवन बीमा कम्पनीहरूको रिटेन्ड अर्निङ गत वर्षको तुलनामा घटेको छ। सबैभन्दा ठूलो गिरावट सन नेपाल लाइफमा ७०.९४ प्रतिशतको देखिएको छ, जसको नाफा १ अर्ब ५ करोड ४५ लाखबाट ३० करोड ६४ लाख रुपैयाँमा झरेको छ। यस्तै, नेपाल लाइफको ६५.३१ प्रतिशत, सिटिजन लाइफको ५९.०७ प्रतिशत र सूर्यज्योति लाइफको ४२.१८ प्रतिशतले रिटेन्ड अर्निङ घटेको छ।

यसैगरी नेशनल लाइफको ३९.७४ प्रतिशत, सानिमा रिलायन्सको ३९.३९ प्रतिशत, प्रभु महालक्ष्मीको ३६.६७ प्रतिशत, आइएमई लाइफको २७.६३ प्रतिशत, एलआईसी नेपालको २५.२८ प्रतिशत, रिलायबल नेपाल लाइफको २३.०८ प्रतिशत र एशियन लाइफको रिटेन्ड अर्निङ १७.२६ प्रतिशतले घटेको विवरणले देखाउँछ।

प्रतिकूल बजारमा पनि हिमालयन लाइफको ‘छलाङ’

चौतर्फी गिरावट सँगै दौडिरहेको बजारमा केही कम्पनीहरूले भने सुखद उत्साह छरेका छन्। प्रतिकूल परिस्थितिका बीच पनि हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो रिटेन्ड अर्निङमा ४१.७४ प्रतिशतको सानदार वृद्धि गरेको छ। गत वर्ष ७० करोड २९ लाख रुपैयाँ रहेको यसको नाफा यस वर्ष ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

यस्तै, लघुबीमातर्फ क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ३०.९० प्रतिशतको वृद्धि निकाल्दै आफ्नो रिटेन्ड अर्निङ ४ करोड ५६ लाख रुपैयाँ पुर्‍याएको छ। सरकारी स्वामित्व समेत रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले भने १ प्रतिशतको सामान्य सुधार सहित ३८ करोड ७४ लाख रुपैयाँ संचित नाफा कायम राख्न सफल भएको छ।

एलआईसी नेपाल मात्रै अर्ब क्लबमा, कसको कति ?

अर्ब माथिको संचित नाफा जोगाउन सफल एकमात्र कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड बनेको छ, जसको रिटेन्ड अर्निङ २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ छ। यद्यपि, यो गत वर्षको तुलनामा कम हो।

बाँकी कम्पनीहरूमा हिमालयन लाइफको ९९.६३ करोड, नेपाल लाइफको ७८.३३ करोड, एशियन लाइफको ७१.७३ करोड, रिलायबल नेपाल लाइफको ६८.३० करोड, सूर्यज्योति लाइफको ५३.४० करोड, नेशनल लाइफको ५२.४९ करोड, र आइएमई लाइफको ५२.०८ करोड रुपैयाँ रिटेन्ड अर्निङ रहेको छ।

त्यस्तै, सिटिजन लाइफको ४७.०९ करोड, राष्ट्रिय जीवन बीमाको ३८.७४ करोड, प्रभु महालक्ष्मीको ३३.२१ करोड, सानिमा रिलायन्सको ३२.२८ करोड, सन नेपाल लाइफको ३०.६४ करोड र क्रेस्ट माइक्रो लाइफको ४.५६ करोड रुपैयाँ संचित नाफा वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्