ईभी आयातमा बजेट सेटिङको आरोप खेपिरहेका अर्थमन्त्रीले अर्थ समितिमा कसलाई गरे काउन्टर अट्याक?
काठमाडौँ। बजेटको मुखमा कोरोला नाकामा ७७४ विद्युतीय गाडी नियन्त्रणमा लिइएको घटना र आर्थिक विधेयकमा पटक–पटक गरिएको संशोधनको विवादले अहिले नेपालको अर्थ-राजनीति तरंगित छ।
यसै विषयलाई लिएर संसद् भित्र र बाहिर चौतर्फी निशानामा परेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा पुगेर पुनः स्पष्टीकरण दिएका छन्।
बजेटसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले आफू र प्रधानमन्त्रीमाथि नियोजित रूपमा चौतर्फी आक्रमण भइरहेको दाबी गरे। नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहको स्वार्थमा आफूहरूमाथि घेराबन्दी सुरु भएको उनको भनाइ छ।
गत जेठ १५ गते संसद्मा पेस गरिएको आर्थिक विधेयकमा पटक-पटक संशोधन गरेर पुनः संसद्मा पठाइएको विषय र बजेट आउनुअघि नै करको दर चुहाएर गाडी भित्र्याइएको प्रकरणले यतिबेला सरकार घेराबन्दीमा छ।
विशेषगरी चिनियाँ ईभी ब्रान्ड बीवाईडीको आयात र कर सहुलियतलाई लिएर बजारमा बजेट आउनु अगावै सेटिङमा निश्चित व्यापारिक घरानालाई पोस्ने गरी नीतिगत भ्रष्टाचार गरियो भन्दै अर्थमन्त्रीमाथि निरन्तर प्रहार भइरहेका बेला उनले अर्थ समितिमा यस्तो प्रष्टीकरण दिएका हुन्।
“प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,” अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले भने, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।”
अर्थमन्त्री वाग्लेले राज्यको ढुकुटी र नीतिमाथि धावा बोल्ने त्यस्ता स्वार्थी र आपराधिक समूहको प्रलोभन वा ‘लहलहै’ मा लागेर संसद्को गरिमा कमजोर नपार्न सांसदहरूलाई समेत विशेष आग्रह गरे।
निश्चित व्यापारिक घरानाको स्वार्थ र सेटिङमा बजेट ल्याएको भन्दै आलोचना खेपिरहेका अर्थमन्त्रीले कोरोला नाकामा समातिएका गाडी र आर्थिक विधेयकको संशोधनमाथि भइरहेको छानबिन अन्तिम चरणमा पुगेको र त्यो सिधै अदालत जाने बताएका छन्।













