९ महिनामा म्याजिक चप्पाल बनाउने कम्पनीको १ अर्ब ३५ करोडको व्यापार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

९ महिनामा म्याजिक चप्पाल बनाउने कम्पनीको १ अर्ब ३५ करोडको व्यापार



काठमाडौं । जुत्ता उत्पादनको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जमाएको म्याजिक ब्रान्डको उत्पादक जयश्री पीयु टेकले पछिल्लो समय उत्साहजनक व्यापारिक प्रगति हासिल गरेको छ ।

सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा मात्रै १ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ । विगतका वर्षहरूको तथ्याङ्कलाई हेर्दा कम्पनीको व्यापारमा निकै उच्च वृद्धि देखिएको छ । जसमा सन् २०२४ को तुलनामा चालु वर्षको व्यापार करिब ६६ प्रतिशतले बढेको हो ।

सन् २०२४ मा ७६ करोड २० लाख रुपैयाँ र सन् २०२५ मा १ अर्ब २६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको यस कम्पनीले छोटो समयमै बजारमा आफूलाई अब्बल साबित गरेको छ ।

कम्पनीको यस असाधारण व्यापारिक वृद्धिको मुख्य श्रेय अन्तर्राष्ट्रिय बजारमा भएको निर्यातलाई जान्छ । प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले गरेको कुल कारोबारमध्ये झण्डै ७२ प्रतिशत हिस्सा भारततर्फ गरिएको निर्यातबाट प्राप्त भएको हो ।

स्वदेशी उत्पादनलाई भारतीय बजारमा विस्तार गर्न सफल भएसँगै कम्पनीको वित्तीय स्वास्थ्यमा सुधार आएको छ । यस अवधिमा कम्पनीले १२.४३ प्रतिशतको हाराहारीमा नाफा मार्जिन कायम राख्न सफल भएको छ । नगद प्रवाहको अवस्थालाई नियाल्दा पनि कम्पनीले निरन्तर सुधार गरिरहेको देखिन्छ ।

गत आर्थिक वर्षमा ६ करोड १० लाख रुपैयाँ सञ्चय गरेको कम्पनीको नगद सञ्चय चालु वर्षको नौ महिनामै ११ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ को ४ करोड ४० लाख रुपैयाँको तुलनामा निकै धेरै हो ।

सन् २००९ मा स्थापना भएदेखि नै नेपाली जुत्ता उद्योगमा म्याजिक ब्रान्डको नामबाट स्थापित यस कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिँदै आएको छ । वार्षिक करिब ९ लाख जोडी जुत्ता तथा चप्पल उत्पादन गर्ने क्षमता रहेको यस कम्पनीले आफ्नो व्यवसाय विस्तारका लागि ऋणको व्यवस्थापनमा पनि सावधानी अपनाएको छ ।

कम्पनीले कुल १ अर्ब रुपैयाँको क्रेडिट रेटिङ गराएको छ, जसमा दीर्घकालीन वित्तीय आवश्यकताका लागि २९ करोड ८९ लाख र छोटो अवधिको कार्यसञ्चालन पुँजीका लागि ७० करोड १० लाख रुपैयाँको रेटिङ समावेश छ ।

अनुज पोदर र राजेशकुमार अग्रवालको नेतृत्वमा सञ्चालित यो कम्पनी नेपाली जुत्ता उद्योगमा एक उदाहरणीय संस्थाको रूपमा अगाडि बढिरहेको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै कम्पनीले आफ्नो ब्राण्डको दायरा थप फराकिलो बनाउने रणनीति अघि सारेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्