स्मार्टफोन बजारमा ठूलो धक्का, अब वान–प्लसका फोन बन्द हुँदै - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

स्मार्टफोन बजारमा ठूलो धक्का, अब वान–प्लसका फोन बन्द हुँदै



स्मार्टफोन बजारमा ‘फ्ल्यागसिप किलर’ को पहिचान बनाएको वनप्लसले अमेरिका र युरोपबाट बाहिरिने घोषणा गर्दै आफ्ना सबै प्रणालीहरूलाई माउ कम्पनी ओप्पोमा गाभ्ने निर्णय गरेको छ।

काठमाडौँ । कुनै समय एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तामाझ निकै लोकप्रिय बनेको र ‘नेभर सेटल’ को नारा बोकेको स्मार्टफोन उत्पादक कम्पनी वन-प्लसले उत्तर अमेरिका र युरोपको बजारबाट पूर्ण रूपमा बाहिरिने घोषणा गरेको छ।

कम्पनीका अनुसार सन् २०२५ को ‘वनप्लस १५’ को सार्वजनिक पछि ती क्षेत्रहरूमा नयाँ फोनहरू आउने छैनन्। सन् २०२१ मा आफ्ना केही शाखाहरू माउ कम्पनी ओप्पोसँग गाभेको वनप्लसले अब आफ्ना सम्पूर्ण व्यावसायिक गतिविधिहरू ओप्पो ब्रान्डकै मातहतमा सञ्चालन गर्ने आधिकारिक पुष्टि गरेको छ।

यो नयाँ रणनीति अनुसार वनप्लसको पहिचान र क्षमतालाई ओप्पोमार्फत अगाडि बढाइने कम्पनीका प्रवक्ताले जानकारी दिए। यो निर्णय ओप्पोको दबाब वा वनप्लसको एकलौटी निर्णय नभई सन् २०२६ मा आफ्ना उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखेर संयुक्त रूपमा गरिएको कम्पनीले जनाएको छ।

नयाँ व्यवस्था अनुसार वनप्लसले चीनमा आफ्नो व्यवसाय जारी राख्नेछ भने ओप्पोको अर्को सहायक ब्रान्ड रियलमीले चिनियाँ बजार छोडेर अन्तर्राष्ट्रिय बजारमा मात्र ध्यान केन्द्रित गर्नेछ। यद्यपि, एक रिपोर्टका अनुसार वनप्लसले सन् २०२७ सम्ममा चीन बाहेकका भारत लगायतका सबै अन्तर्राष्ट्रिय बजारहरूबाट चरणबद्ध रूपमा बाहिरिने योजना बनाएको छ।

बजारको दबाब र संकट

विश्वव्यापी स्मार्टफोन बजारमा हाल देखा परेको विभिन्न चुनौतीहरूका कारण वनप्लसले यो कठोर कदम चाल्नु परेको हो।

बजारमा मेमरी चिपको सीमित आपूर्ति र यसको उच्च मूल्यका कारण फोन उत्पादक कम्पनीहरूले स्मार्टफोनको मूल्य बढाउन बाध्य हुनु परेको छ।

आइडिसीको तथ्यांक अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन ढुवानीमा गिरावट आएको छ, जसले सन् २०२३ को मध्यदेखि देखिएको बजारको वृद्धिलाई रोकिदिएको छ।

काउन्टरपोइन्ट रिसर्चको तथ्यांकले पनि स्मार्टफोन ढुवानी सन् २०१३ यताकै न्यून बिन्दुमा पुगेको देखाएको छ। यस्तै चिनियाँ बजारमा पनि दोस्रो त्रैमासिकमा फोन ढुवानीमा ४.३ प्रतिशतको गिरावट आएको छ, जसको प्रत्यक्ष असर वनप्लसको सस्तो मूल्यको ‘नर्ड’ सिरिजमा परेको छ।

व्यावसायिक मन्दीका साथै वनप्लसले भूराजनीतिक र कानुनी दबाबहरू पनि सामना गरिरहेको छ। अमेरिकी बजारमा चिनियाँ ब्रान्डहरूमाथि कडा निगरानी भइरहेको छ भने एप्पल कम्पनीले वनप्लसमाथि व्यापारिक गोपनीयता दुरुपयोग गरेको आरोपमा मुद्दा समेत दायर गरेको छ।

यसका साथै अमेरिकामा डोनाल्ड ट्रम्प सरकारको प्रतिबन्धका कारण वनप्लस १५ को प्रमाणीकरणमा ढिलाइ हुँदा यसको बजार पहुँचमा थप धक्का लागेको थियो।

पहिचानको संकट, ओप्पोको रणनीति

सन् २०१३ मा पिट लाउ र कार्ल पेईले स्थापना गरेको वनप्लसले सुरुवाती दिनहरूमा सीमित फोनहरू बजारमा ल्याएर र आक्रामक बजारीकरण गरेर छुट्टै पहिचान बनाएको थियो। एप्पल र सामसङ जस्ता महँगा फोनहरूलाई टक्कर दिँदै कम मूल्यमा उत्कृष्ट सुविधाहरू दिएका कारण यसलाई ‘फ्ल्यागसिप किलर’ भनिन्थ्यो।

तर, पछिल्ला वर्षहरूमा बढेको मूल्य, धेरै मोडलहरू र ओप्पोसँगको बढ्दो सामिप्यताका कारण यसले आफ्नो मौलिकता गुमाउँदै गएको बजार विश्लेषकहरूको भनाइ छ। युरोपमा तीव्र प्रतिस्पर्धा र अमेरिकामा टेलिकम कम्पनीहरूसँग बलियो सम्बन्ध नहुँदा वनप्लसले ठूलो बजार हिस्सा ओगट्न सकेन।

अन्तर्राष्ट्रिय बजारबाट बाहिरिए पनि वनप्लसले आफ्ना पुराना प्रयोगकर्ताहरूलाई दिइँदै आएको सेवा र सुविधाहरूमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाएको छ। हाल वनप्लस प्रयोग गरिरहेका ग्राहकहरूले प्रतिवद्धता गरिए अनुसारको सफ्टवेयर अपडेटहरू पाइरहने छन्।

तर, ती अपडेटहरू अब वनप्लसको ‘अक्सिजन ओएस’ मार्फत नभई ओप्पोको ‘कलर ओएस’ मार्फत उपलब्ध हुनेछन्। यी दुवै प्रणालीहरू धेरै हदसम्म समान भएकाले प्रयोगकर्ताहरूलाई खासै फरक महसुस नहुने कम्पनीको भनाइ छ।

अब ओप्पोले आफ्नो ध्यान मध्य युरोपमा केन्द्रित गर्ने योजना बनाएको छ भने रियलमी ब्रान्डलाई फिनल्याण्ड, डेनमार्क, स्वीडेन र आइसल्याण्ड जस्ता नर्डिक क्षेत्रहरूमा केन्द्रित गराइनेछ। अमेरिकामा ओप्पोको आफ्नै आधिकारिक उपस्थिति नरहेका कारण वनप्लसको बहिर्गमनसँगै ओप्पोले अमेरिकी स्मार्टफोन बजारमा आफ्नो एक मात्र बलियो उपस्थिति गुमाएको छ।


प्रतिक्रिया दिनुहोस्