३०औँ वार्षिकोत्सवमा सलिकोको ‘सुरक्षा रन २०२६’ सम्पन्न, स्वास्थ्यसँगै सामाजिक सेवामा पनि जोड - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

३०औँ वार्षिकोत्सवमा सलिकोको ‘सुरक्षा रन २०२६’ सम्पन्न, स्वास्थ्यसँगै सामाजिक सेवामा पनि जोड



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ।

स्वास्थ्यप्रति सचेतना बढाउने, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने तथा बीमा सम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले टेम्पल रनको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा ५०० भन्दा बढी धावक सहभागी भएका थिए। दौड कम्पनीको केन्द्रीय कार्यालय नक्साल–भगवतीमार्गबाट सुरु भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर र उत्तरढोका हुँदै पुनः कम्पनीको केन्द्रीय कार्यालयमै आएर सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोहर दास मुलले रिबन काटेर गरेका थिए।

दौडपछि सहभागीहरूका लागि मनोरञ्जनात्मक खेल तथा विभिन्न गतिविधि पनि सञ्चालन गरिएको थियो। प्रतियोगितामा सहभागी सबै धावकलाई ‘फिनिसर मेडल’ प्रदान गरिएको कम्पनीले जनाएको छ। पुरुष तथा महिला दुवै विधाका विजेतालाई रु. ९ लाखसम्मको सलिको आरोग्य हेल्थ इन्स्युरेन्स सुविधासहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

यसैबीच, कम्पनीले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सेवामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ। गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशका मानव सेवा आश्रममा भोजन वितरण, लुम्बिनी प्रदेशमा रक्तदान तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन र खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस्ता कार्यक्रमले स्वस्थ जीवनशैली प्रवर्द्धन, बीमा सचेतना विस्तार र समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउन योगदान पुर्‍याएका छन्। आगामी दिनमा पनि स्वास्थ्य प्रवर्द्धन, सामाजिक उत्तरदायित्व तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्