फिफा इतिहासकै महँगो फाइनल: मेस्सी र यमालको भिडन्तले अमेरिकी बजारमा बगायो पैसाको खोलो, प्रिमियम टिकटको मूल्य ३५ कराेड ! - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

फिफा इतिहासकै महँगो फाइनल: मेस्सी र यमालको भिडन्तले अमेरिकी बजारमा बगायो पैसाको खोलो, प्रिमियम टिकटको मूल्य ३५ कराेड !



काठमाडौँ । खेलकुद इतिहासकै सबैभन्दा ठूलो र खर्चिलो महाकुम्भका रूपमा हेरिएको फिफा विश्वकप २०२६ को फाइनल खेल आज न्युजर्सीको मेटलाइफ स्टेडियम (न्युयोर्क न्युजर्सी स्टेडियम) मा हुँदैछ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र युरोपेली जादुगर स्पेनबीचको यो भिडन्त केवल फुटबलको सर्वोच्च उपाधिका लागि मात्र होइन, बरु खेलकुद अर्थतन्त्रमा नयाँ क्रान्ति ल्याउने ‘बिलियन डलर’ इभेन्ट बनेको छ। लियोनेल मेस्सी र लामिन यमालको यो ऐतिहासिक टक्करले अमेरिकी बजारमा पैसाको खोलो बगाएको छ।

फिफाले पहिलो पटक प्रयोगमा ल्याएको मागअनुसार मूल्य घटबढ हुने ‘डाइनामिक प्राइसिङ’ प्रणाली र दोस्रो बजार (रिसेल मार्केट) का कारण टिकटको मूल्यले आकाश छोएको छ। समूह चरणमै इतिहासकै महँगो ५७५ अमेरिकी डलरबाट सुरु भएको टिकटको मूल्य फाइनल खेलको २४ घण्टा अघिसम्म आइपुग्दा अभूतपूर्व उचाइमा पुगेको थियो।

टिकट प्लेटफर्महरूका अनुसार दोस्रो बजारमा फाइनल खेलको टिकटको औसत सूची मूल्य ११ हजार अमेरिकी डलर (करिब १७ लाख नेपाली रुपैयाँ) पुगेको छ। फिफाको आधिकारिक पुनर्बिक्री प्लेटफर्ममा उपलब्ध केही प्रिमियम सिटको मूल्य भने अधिकतम २३ लाख अमेरिकी डलर (करिब ३५ करोड ४२ लाख नेपाली रुपैयाँ) सम्म सूचीकृत भएको छ।

उता पुनर्बिक्री प्लेटफर्म सिटगीकका अनुसार फाइनलको औसत टिकट मूल्य सन् २०२४ को सुपर बाउलको औसत टिकट मूल्यभन्दा करिब ८ प्रतिशत बढी रहेको छ, जसले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्ट बनाएको छ।

फाइनल खेल आयोजना भइरहेको न्युयोर्क-न्युजर्सी महानगर क्षेत्रले यसै साता मात्रै अर्बौँ डलरको आर्थिक कारोबार गरेको छ। स्थानीय होटल, रेष्टुरेन्ट, र यातायात क्षेत्रमा माग धान्नै नसकिने गरी बढेको छ। पर्यटन विज्ञहरूका अनुसार फाइनल खेल हेर्न आएका लाखौँ अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकहरूका कारण होटलको प्रतिरात मूल्यमा ४०० प्रतिशतसम्मको वृद्धि भएको छ।

यस एकल खेलले मात्र स्थानीय अर्थतन्त्रमा ६०० मिलियन डलरभन्दा बढीको प्रत्यक्ष आर्थिक योगदान पुर्‍याउने निश्चित भएको छ। ४८ टोली सम्मिलित यो विस्तारित विश्वकपमा फिफाले गरेको उच्च मूल्यको व्यापारिक दाउ शतप्रतिशत सफल भएको छ, जसका कारण प्रारम्भिक चरणमै ९९.७ प्रतिशत सिटहरू भरिएर ऐतिहासिक राजस्व संकलन भएको छ।

यस्तै विश्वकप फाइनलको प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजन नेटवर्कहरू र डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूले विज्ञापनबाट ऐतिहासिक कमाइ गरिरहेका छन्। खेलको क्रममा देखाइने मात्र ३० सेकेन्डको विज्ञापन स्लटका लागि कम्पनीहरूले करोडौँ डलरको सम्झौता गरेका छन्। अर्जेन्टिनाको जर्सी स्पन्सर एडिडास र स्पेनको जर्सी पार्टनरहरूबीच पनि विश्वव्यापी बजारमा आफ्ना उत्पादन बिक्री बढाउन अर्बौँको प्रतिस्पर्धा चलिरहेको छ।

यस फाइनल खेललाई लेकर विश्वभरको खेल सट्टेबाजी (ब्याटिङ) बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ। ‘लागस वेगास’ देखि लेकर विश्वभरका डिजिटल बेटिङ एपहरूमा अर्जेन्टिना र स्पेनको जित-हारमा अर्बौँ डलरको दाउ लगाइएको छ।

३९ वर्षीय मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा र स्पेनको नयाँ पुस्ताको उदयको यो समीकरणले कर्पोरेट विज्ञापनदाता, बहुराष्ट्रिय कम्पनी र खेलकुद व्यवसायका लागि यो फाइनल खेल इतिहासकै सबैभन्दा बढी नाफा दिने सुनौलो अवसर प्रमाणित भएको छ।


प्रतिक्रिया दिनुहोस्