साउन मसान्तभित्र सम्पर्कमा आउन दूध उत्पादक फार्म र सहकारीलाई डीडीसीको अनुरोध
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दूध सङ्कलन तथा खरिद प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने तयारी गरेको छ। यसका लागि संस्थानले आफूलाई नियमित रूपमा दूध बिक्री गर्न चाहने दुग्ध उत्पादक सहकारी संस्था र निजी डेरी फार्मलाई निर्धारित समयभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार संस्थानसँग निरन्तर दूध कारोबार गर्न इच्छुक सहकारी तथा निजी फार्महरूले २०८३ साल साउन मसान्तभित्र आफूलाई पायक पर्ने डीडीसीका आयोजना, चिस्यान केन्द्र वा तोकिएका सम्पर्क कार्यालयमा आवश्यक विवरणसहित सम्पर्क गर्नुपर्नेछ।
संस्थानका अनुसार तोकिएको अवधिभित्र सम्पर्कमा नआउने सहकारी संस्था वा निजी फार्मसँग आगामी दिनमा दूध खरिद तथा कारोबार गर्ने दायित्व संस्थानको नहुने स्पष्ट गरिएको छ। डीडीसीले दूध सङ्कलन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गर्न लागेको जनाएको छ।














