किभमा रुसको भीषण ब्यालिस्टिक मिसाइल आक्रमण, चौतर्फी क्षति
रुसले युक्रेनको राजधानी किभमा अहिलेसम्मकै ठूलो ब्यालिस्टिक मिसाइल आक्रमण गर्दा व्यापक क्षति पुगेको छ भने युक्रेनले हवाई प्रतिरक्षा प्रणालीको चरम अभाव झेलिरहेको छ।
काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइल आक्रमणमध्ये एक गरेको छ। आइतबार राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दिएको जानकारी अनुसार उक्त रात्रिकालीन आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।
अध्यारो सहरमा एकपछि अर्को गर्दै शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका थिए। विभिन्न प्रकारका ४१ वटा मिसाइलहरू प्रयोग गरिएको उक्त आक्रमणले सहरका थुप्रै क्षेत्रका भवनहरूलाई ध्वस्त पारेको छ।
किभका मेयर भिटाली क्लित्च्कोले आवासीय भवनहरू, गोदामहरू, एउटा सुपरमार्केट र एउटा छात्रावासमा क्षति पुगेको बताए। उनले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी पनि दिए। पश्चिमी किभको एउटा स्थानमा आपतकालीन उद्धारकर्मीहरूले धुवाँ निस्किरहेका भग्नावशेषहरू पन्छाएका थिए भने बमबारीमा परेका अपार्टमेन्टहरूको आगो निभाएका थिए।
भ्लाद नाम बताउने एक स्थानीय बासिन्दाले रोयटर्ससँग कुरा गर्दै आफू अपार्टमेन्टभित्रै रहेको बेला विष्फोटले बाल्कोनीको ढोका उक्काएर उनको टाउकोमा लागेको बताए। उनले आफ्नी हजुरआमा हिँडडुल गर्न नसक्ने भएकाले उनलाई छोडेर आफू भाग्न नसकेको पीडा सुनाए।
सहरको केन्द्र भाग नजिकै, बारम्बार निशानामा पर्ने गरेको एउटा मेट्रो स्टेशन नजिकैको भूमिगत पैदल यात्री मार्ग भत्किँदा त्यहाँ भग्नावशेषको थुप्रो लागेको छ।

हवाई प्रतिरक्षाको चरम अभाव
युक्रेनले अमेरिकामा निर्मित हवाई प्रतिरक्षा प्रणालीको चरम अभाव झेलिरहेका बेला रुसी सेनाले हालैका हप्ताहरूमा किभ र अन्य सहरहरूमा ब्यालिस्टिक मिसाइल आक्रमणलाई तीव्र पारेको छ।
किभको सेनाले आइतबारको आक्रमण मुख्य रूपमा युक्रेनी राजधानीलाई नै लक्षित गरी गरिएको र त्यसमध्ये १८ वटा मिसाइलहरूलाई आकाशमै खसालिदिएको जनाएको छ। सेनाका अनुसार आक्रमणमा प्रयोग गरिएका १२५ वटा ड्रोनमध्ये १०८ वटालाई पनि खसालिएको थियो।
राष्ट्रपति जेलेन्स्कीले गत हप्ता अमेरिका र युक्रेनबीच बहुमूल्य मानिने पेट्रियट इन्टरसेप्टर (मिसाइल प्रतिरोधक प्रणाली) उत्पादन गर्ने इजाजतपत्रका बारेमा राजनीतिक सम्झौता भएको बताएका थिए। उनले यसै वर्षको अन्त्यसम्ममा यसको उत्पादन सुरु हुन सक्ने आशा व्यक्त गरेका थिए।
तर, रुसको पूर्णस्तरको आक्रमण पाँचौँ वर्षमा प्रवेश गरिरहँदा बढ्दो रुसी आक्रमणले किभका विदेशी साझेदारहरूलाई एन्टि–ब्यालिस्टिक रक्षा प्रणालीको आपूर्तिलाई तीव्रता दिन दबाब बढाएको छ। राष्ट्रपति जेलेन्स्कीले आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै ब्यालिस्टिक मिसाइलहरू विरुद्धको सुरक्षा अहिलको मुख्य र निरन्तरको प्राथमिकता भएको र आफूहरूलाई हरेक दिन इन्टरसेप्टरहरू आवश्यक पर्ने बताए।













