समुद्री सुरक्षामा भारतको बढ्दो दबदबा: के संसारलाई सुरक्षा दिने नयाँ नायक बन्दै छ ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

समुद्री सुरक्षामा भारतको बढ्दो दबदबा: के संसारलाई सुरक्षा दिने नयाँ नायक बन्दै छ ?



विश्वका प्रमुख समुद्री व्यापारिक मार्गहरूमा सुरक्षा चुनौती थपिँदै जाँदा भारत एकाएक अमेरिका, इजरायल र युरोपेली देशहरूका लागि एक भरपर्दो र अपरिहार्य रणनीतिक साझेदारका रूपमा अगाडि आएको छ ।

विश्वका प्रमुख समुद्री मार्गहरूमा सुरक्षा चुनौतीहरू बढिरहेका बेला भारत व्यापारिक मार्गहरूलाई खुला राख्ने र इजरायल तथा पश्चिमा देशहरूको सुरक्षा भविष्यलाई मार्गनिर्देशन गर्ने एक स्थिरता कायम गर्ने शक्तिका रूपमा अगाडि आएको छ ।

दशकौँदेखि विश्वव्यापी सुरक्षा सम्बन्धी छलफलहरू हर्मुज जलसन्धि, बाब अल-मन्डेब र मलाक्का जलसन्धि जस्ता विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमा कसको नियन्त्रण रहन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका थिए ।

यी साँघुरा जलमार्गहरूले मध्यपूर्वको ऊर्जा स्रोत, एसियाका उत्पादन केन्द्रहरू र युरोप तथा उत्तर अमेरिकाका उपभोक्ता बजारहरूलाई जोड्ने गर्छन् । तर, आउँदा दशकहरूको निर्णायक प्रश्न यी मार्गहरूमा कसको नियन्त्रण छ भन्ने मात्र नभएर यिनलाई खुला राख्न कसले मद्दत गर्न सक्छ भन्ने कुरा झनै ठूलो सवाल बनेर आउने देखिन्छ ।

ठ्याक्कै यही विन्दुमा भारतको भूमिका दिनानुदिन महत्वपूर्ण बन्दै गइरहेको छ ।

इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (ईयू) का लागि भारत केवल आर्थिक वृद्धि वा उदाइरहेको रक्षा महाशक्तिको कथा मात्र होइन । हालैको अमेरिका-इजरायल-इरान युद्धपछिको समयमा व्यापारिक मार्ग, ऊर्जा सुरक्षा र भूराजनीतिक स्थिरतामाथि तीव्र दबाब परिरहेका बेला भारत विश्वव्यापी समुद्री प्रणालीलाई बलियो बनाउन सक्षम रणनीतिक साझेदारका रूपमा उभिएको छ ।

भूगोलको ठूलो फाइदा

विश्वको मानचित्रलाई हेर्दा भारतको सबैभन्दा ठूलो फाइदा उसको भौगोलिक अवस्थिति हो भन्ने प्रष्ट हुन्छ । हिन्द महासागरको केन्द्रमा रहेको भारत मध्यपूर्वका ऊर्जा उत्पादक क्षेत्र, अफ्रिकाका उदाइरहेका अर्थतन्त्र र पूर्वी एसियाका प्रमुख उत्पादन केन्द्रहरूको बीचमा अवस्थित छ ।

यसको पश्चिमी तट पर्शियन (फारस) खाडी र लाल सागरलाई जोड्ने समुद्री मार्गहरूतर्फ फर्किएको छ भने भारतकै स्वामित्वमा रहेका अण्डमान र निकोबार टापुहरूले मलाक्का जलसन्धिमा रणनीतिक पहुँच प्रदान गर्छन्, जुन हिन्द महासागर र प्रशान्त महासागरबीचको प्रवेशद्वार हो ।

विश्वव्यापी व्यापारको आवतजावतलाई प्रभाव पार्न सक्ने यस्तो प्राकृतिक अवस्थिति संसारका थोरै देशहरूसँग मात्र छ ।

यो भूगोल यसकारण महत्वपूर्ण छ, किनभने आधुनिक अर्थतन्त्र समुद्री पहुँचमा निर्भर रहन्छ । लाल सागरमा आउने अवरोधले युरोपेली ढुवानीलाई असर गर्छ, खाडी क्षेत्रको अस्थिरताले विश्वव्यापी ऊर्जाको मूल्यलाई प्रभाव पार्छ र हिन्द महासागरमा देखिने चुनौतीले एसियाली आपूर्ति शृङ्खलालाई प्रभावित बनाउँछ ।

हुथी विद्रोहीहरूले लाल सागरमा व्यापारिक जहाजहरूमाथि गरेका आक्रमणहरूले यस यथार्थलाई पुष्टि गरिसकेका छन् । हजारौँ किलोमिटर टाढा हुने द्वन्द्वले पनि द्रुत रूपमा ढुवानी खर्च बढाउन, आपूर्ति शृङ्खला खलबल्याउन र संसारका देशहरूलाई उनीहरूको संवेदनशीलताको सम्झना गराउन सक्छ ।

बढ्दो क्षमता र सैन्य सक्रियता

भारतले आफूलाई यी चुनौतीहरूको सामना गर्न सक्षम देशका रूपमा निरन्तर अगाडि बढाइरहेको छ ।

आर्थिक रूपमा भारत अहिले नै विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा बजारहरूमध्ये एक हो । यो विश्वकै तेस्रो ठूलो तेल उपभोक्ता, सबैभन्दा ठूला एलएनजी आयातकर्तामध्ये एक र प्रमुख प्रशोधनकर्ता मुलुक हो । हाल भारतको वार्षिक तेल प्रशोधन क्षमता करिब २५ करोड ८० लाख मेट्रिक टन छ र यसलाई सन् २०३० सम्ममा ३१ करोड टन पुर्‍याउने योजना बनाइएको छ ।

खाडी मुलुकहरू भरपर्दो ऊर्जा बजारमा निर्भर छन् र भारत उनीहरूको निर्यातका लागि सबैभन्दा ठूलो र तीव्र गतिमा बढिरहेको गन्तव्यमध्ये एक हो । सन् २०२४-२५ मा भारत र खाडी सहयोग परिषद् (जीसीसी) बीचको व्यापार करिब १७८ अर्ब डलर पुगेको थियो, जसले भारत र मध्यपूर्वबीचको गहिरो आर्थिक अन्तरनिर्भरतालाई देखाउँछ ।

तर, चाखलाग्दो कुरा के छ भने भारतको महत्व केवल ऊर्जा उपभोक्ताको रूपमा मात्र सीमित छैन, यो समुद्री क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने शक्ति पनि बन्दै गएको छ ।

सन् २००८ मा आदेन(येमन) को खाडीमा समुद्री लुटेरा र डकैतीहरु विरुद्ध निरन्तर अभियान सुरु गरेदेखि भारतीय नौसेनाले अन्तर्राष्ट्रिय ढुवानी मार्गहरूलाई सुरक्षित बनाउन, हजारौँ व्यापारिक जहाज र दशौँ हजार नाविकहरूको रक्षा गर्न मद्दत गर्दै आएको छ ।

सन् २०२४ मा समुद्री आक्रमणहरू बढेका बेला भारतले ३० भन्दा बढी नौसैनिक जहाजहरू परिचालन गरेको थियो । उसले धेरै घटनाहरूमा उद्धार कार्य गर्‍यो, राष्ट्रियताको भेदभाव बिना सयौँ मानिसहरूको ज्यान बचायो र अरबौँ डलरको सामान बोकेका व्यापारिक जहाजहरूलाई सुरक्षा घेरा प्रदान गरेर गन्तव्यसम्म पुर्‍यायो ।

यसबाहेक भारतले मलाक्का जलसन्धि नजिक आफ्नो बलियो उपस्थिति बनाउन र हिन्द महासागरमा चीनको बढ्दो महत्वाकाङ्क्षालाई रोक्न निकोबार टापुहरूमा सैन्य पूर्वाधारहरू सुधार गर्दैछ ।

यी अभियानहरूले एउटा महत्वपूर्ण यथार्थलाई उजागर गर्छन्, त्यो के भने भारतले विश्वव्यापी व्यापारबाट केवल फाइदा मात्र लिइरहेको छैन, बरु यसको सुरक्षामा पनि उत्तिकै योगदान दिइरहेको छ ।

सुरक्षाको भविष्य उन्नत हतियार प्रणाली वा सैन्य गठबन्धनमा मात्र निर्भर हुने छैन । यो बलियो आपूर्ति शृङ्खला, सुरक्षित ऊर्जा मार्ग र आवागमनको स्वतन्त्रता कायम राख्न सक्ने विश्वासिला साझेदारहरूको क्षमतामा पनि निर्भर हुनेछ । हर्मुज जलसन्धिमा जारी अमेरिका-इरान तनावले यस यथार्थलाई थप प्रष्ट पार्छ ।

भारत विशिष्ट स्थितिमा छ किनभने यसको भौगोलिक अवस्थितिका साथै धेरै रणनीतिक फाइदाहरू छन् । यससँग ठूलो अर्थतन्त्र, बढ्दै गएको नौसेना, बढ्दो औद्योगिक आधार र विभिन्न क्षेत्रहरूसँगको सुमधुर सम्बन्ध छ । खाडी देशहरूसँग बलियो सम्बन्ध, इजरायलसँग गहिरिँदो सहकार्य, संयुक्त राज्य अमेरिकासँग दीर्घकालीन साझेदारी र अफ्रिका तथा युरोपसँगको बढ्दो संलग्नता भारतको सबल पक्ष हो ।

इरान र रुससँग भारतको निरन्तरको व्यापारिक र कूटनीतिक सम्बन्ध पश्चिमा साझेदारहरूको चाहना अनुकूल नहुन सक्ने भए तापनि यो रणनीतिक स्वायत्तता भारतका लागि एक सम्पत्ति साबित हुन सक्छ । प्रतिस्पर्धी शक्तिहरूसँग संवाद कायम राख्न सक्ने भारतको क्षमताले उसलाई कूटनीतिक लचकता प्रदान गर्दछ, जुन अन्य थोरै प्रमुख अर्थतन्त्रहरूसँग मात्र छ ।

यी विभिन्न रणनीतिक क्षेत्रहरूमा एकैसाथ काम गर्न सक्ने क्षमता संसारका निकै कम देशहरूसँग मात्र छ ।

भारत-इजरायल सहकार्य

भारत र इजरायलबीचको सम्बन्ध परम्परागत रक्षा सहयोगभन्दा धेरै माथि उठिसकेको छ । इजरायल भारतको एक महत्वपूर्ण प्रविधि साझेदार बनेको छ भने भारतले इजरायललाई औद्योगिक स्तर र उत्पादन क्षमता प्रदान गरिरहेको छ ।

हालै राफेल कम्पनीले भारतमै ‘आयरन डोम इन्टरसेप्टर’ प्रणाली उत्पादन गर्ने योजना बनाएको घोषणाले यस सम्बन्धको विकासलाई झल्काउँछ । यो साझेदारी केवल सैन्य सामग्री खरिद गर्ने अवस्थाबाट अघि बढेर रणनीतिक प्रणालीहरूको संयुक्त विकास र उत्पादनतर्फ मोडिएको छ ।

यसले आधुनिक रक्षा क्षेत्रमा भइरहेको ठूलो परिवर्तनलाई देखाउँछ, जहाँ केवल नयाँ आविष्कार मात्र पर्याप्त हुँदैन । देशहरूलाई उत्पादन क्षमता, बलियो आपूर्ति शृङ्खला र प्रविधिहरूलाई तीव्र रूपमा विस्तार गर्ने क्षमता पनि चाहिन्छ । यही तर्क समुद्री सुरक्षामा पनि लागू हुन्छ ।

हर्मुजजस्ता संवेदनशील मार्गहरूमाथिको विश्वव्यापी निर्भरता कम गर्नुको अर्थ रातारात मौजुदा मार्गहरूलाई विस्थापित गर्नु होइन, बरु यसको विकल्प र प्रतिरोधी क्षमता तयार गर्नु हो । विविधीकृत ऊर्जा आपूर्ति, बलियो समुद्री साझेदारी, विस्तारित पूर्वाधार र सुरक्षित वैकल्पिक मार्गहरूले विश्वव्यापी सुरक्षालाई बलियो बनाउँछ।

भारतले हिन्द महासागरमा आफ्नो समुद्री साझेदारी विस्तार गर्दै गर्दा ‘हर्न अफ अफ्रिका’ क्षेत्रले थप रणनीतिक ध्यान पाउनु आवश्यक छ । यसको केन्द्रमा बाब अल-मन्डेब जलमार्ग रहेको छ, जुन हिन्द महासागरलाई लाल सागर र भूमध्यसागरसँग जोड्ने विश्वकै सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो ।

हर्न अफ अफ्रिका भारत र समान विचारधारा भएका साझेदारहरूबीचको सहकार्यका लागि एक महत्वपूर्ण क्षेत्र बन्न सक्छ । यस्तो साझेदारीले बाब अल-मन्डेब जलसन्धिको सुरक्षालाई बढावा दिनेछ र तीनवटै क्षेत्र निर्भर रहने समुद्री मार्गहरूको रक्षा गर्न मद्दत गर्नेछ ।

एक अधिक विविधीकृत समुद्री र ऊर्जा सञ्जालले हर्मुज जलसन्धिमाथिको निर्भरताबाट सिर्जना हुने रणनीतिक दबाबलाई पनि कम गर्नेछ, जुन अहिले विश्वको ध्यान केन्द्रित भएको ठूलो विवादको विषय हो । जब विकल्पहरू उपलब्ध हुन्छन्, तब इरान वा अन्य कुनै पनि एकल शक्तिले विश्वव्यापी वाणिज्यलाई धम्क्याउन सक्ने क्षमता सीमित हुन्छ । अनि राजनीतिक तनावका बाबजुद विश्वव्यापी व्यापारिक मार्गहरू सुरक्षित रहन सक्छन् ।

इन्डो-प्यासिफिकदेखि हिन्द महासागर र लाल सागर हुँदै इजरायल र युरोपसम्म फैलिएको समुद्री करिडोरलाई सुरक्षित गर्नु विश्वव्यापी आर्थिक सम्पर्कको अर्को चरणका लागि आवश्यक हुनेछ । यस सञ्जालको केन्द्रमा रहेको कारण भारतले यी मार्गहरूको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । एक सुरक्षित करिडोरले भारतीय उत्पादन, खाडीको ऊर्जा, इजरायली प्रविधि, युरोपेली बजार र अफ्रिकी विकासका अवसरहरूलाई आपसमा जोड्नेछ ।

भारतको समुद्री महत्वलाई स्वीकार गर्नु भनेको केवल अर्को एउटा उदायमान शक्तिलाई समर्थन गर्नु मात्र होइन । यो त अझ बढी सुरक्षित, विविधीकृत र लचिलो विश्वव्यापी व्यवस्थामा लगानी गर्नु हो । भारतको यो समुद्री शक्ति केवल भारतका लागि मात्र होइन, बरु यो संसारको यस्तो भविष्यका लागि हो- जहाँ महासागरहरू खुला, सुरक्षित र कुनै पनि द्वन्द्व वा दबाबबाट मुक्त रहनेछन् ।

(जर्मनी बस्ने भारतीय मूलकी भूरजानतिक विश्लेषक पौशाली लासले जेरुसेलम पोस्टमा लेखेको यो लेखलाई अनौपचारिक अनुवाद गरिएको हो ।)


प्रतिक्रिया दिनुहोस्