औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा दाखिला
काठमाडौं । गत असार मसान्तसम्म औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले ४६ करोड ८६ लाख रुपैयाँ राज्यकोषमा दाखिला गरेका छन्। देशभरका विभिन्न १० औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगबाट उक्त रकम संकलन गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार महसुल संकलनको अभियान तीव्र बनाइएपछि लामो समयदेखि बाँकी रहेको रकमसमेत उठ्न थालेको छ। देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगबाट उठ्न बाँकी महसुल करिब ८८ करोड रुपैयाँ रहेको छ। बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै बक्यौता नतिर्ने उद्योगमाथि कारबाहीसमेत अघि बढाएको छ।
यसैबीच पटक–पटक ताकेता गर्दा पनि रकम नतिरेपछि लामो समयसम्म बक्यौता नबुझाएका १० उद्योगको विद्युत् आपूर्ति समेत काटिएको छ।













