हाइटेक्स कार्पेटको व्यावसायिक फड्को: ९ महिनामा करिब १ अर्बकाे व्यापार, खुद नाफा ३ प्रतिशतले बढ्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

हाइटेक्स कार्पेटको व्यावसायिक फड्को: ९ महिनामा करिब १ अर्बकाे व्यापार, खुद नाफा ३ प्रतिशतले बढ्यो



काठमाडौँ । नेपालका अग्रणी गलैँचा उत्पादकमध्ये एक हाइटेक्स कार्पेट प्रालिले पछिल्ला वर्षहरूमा आफ्नो व्यापारलाई निरन्तर विस्तार गर्दै नाफा तथा सञ्चालन क्षमता दुवैमा सुधार गरेको छ।

नयाँ उत्पादन उपकरण थपेर क्षमता विस्तार, उत्पादन विविधीकरण तथा बजार पहुँच विस्तारका कारण कम्पनीको समग्र वित्तीय अवस्था क्रमशः सुदृढ बन्दै गएको छ।

कम्पनीले आर्थिक वर्षको नौ महिनामा ९३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। आर्थिक वर्ष २०२४ मा ९४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०२५ मा व्यापार बढाएर १ अर्ब २ करोड ९० लाख रुपैयाँ पुर्‍याएको थियो।

व्यापारसँगै सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२४ मा करिब १२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा सामान्य बढेर १२.४१ प्रतिशत पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने यो अनुपात उल्लेखनीय रूपमा बढेर १८.४४ प्रतिशत पुगेको छ। नयाँ उत्पादन क्षमता थपिनु, सञ्चालन दक्षतामा सुधार आउनु तथा समूहभित्रकै अर्को कम्पनीसँग एकीकरण भएपछि उत्पादन लागतमा आएको सुधारले नाफा बढाउन सहयोग पुगेको हाे ।

यससँगै कम्पनीको खुद नाफामा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०२५ मा अत्यन्त न्यून रहेको खुद नाफा मार्जिन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर करिब ३ प्रतिशत पुगेको छ, जसले कम्पनीको सञ्चालनबाट आम्दानी गर्ने क्षमता क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको छ।

यही अवस्थालाई आधार मानेर केयर रेटिङ्स नेपालले कम्पनीको १ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जालाई ‘बीबी माइनस’ तथा ८० करोड ५० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जालाई ‘ए–४’ श्रेणीको साख मूल्याङ्कनलाई पुनः यथावत् राखेको छ।

यद्यपि उत्पादन क्षमता विस्तारका लागि ठूलो लगानी गरिएकाले कम्पनीको ऋणको भार केही बढेको छ। त्यसका कारण स्वपुँजीको तुलनामा ऋणको अनुपात आर्थिक वर्ष २०२५ को २.४६ गुणाबाट बढेर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा २.९० गुणा पुगेको छ।

ऋण बढे पनि ब्याज तिर्ने क्षमतामा भने सुधार आएको छ। आर्थिक वर्ष २०२५ मा १.५० गुणा रहेको ब्याज भुक्तानी क्षमता चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर १.७७ गुणा पुगेको छ। यसले सञ्चालन आम्दानीबाट ब्याज तिर्ने क्षमता अघिल्लो वर्षको तुलनामा बलियो बन्दै गएको देखाउँछ।

त्यस्तै, नगद आम्दानीको तुलनामा कुल ऋणको अनुपात पनि उल्लेखनीय रूपमा सुधारिएको छ। आर्थिक वर्ष २०२५ मा ३५.८३ गुणा रहेको यो सूचक चालु आर्थिक वर्षको पहिलो नौ महिनामा घटेर २१.३५ गुणामा झरेको छ।

यद्यपि कम्पनीको अर्को प्रमुख चुनौती कार्यशील पुँजी व्यवस्थापन नै रहेको छ। अधिकांश कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने, आपूर्तिकर्तालाई अग्रिम भुक्तानी गर्नुपर्ने तथा मौज्दात र ग्राहकबाट उठाउन बाँकी रकममा ठूलो लगानी गर्नुपर्ने भएकाले कम्पनीको कार्यशील पुँजी आवश्यकता उच्च रहेको मूल्याङ्कन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्