पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको विशेष पहल, सरोकारवालासँग आज विशेष छलफल हुँदै - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको विशेष पहल, सरोकारवालासँग आज विशेष छलफल हुँदै



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरुसँग विशेष छलफल गर्ने भएका छन् । आज मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने बैठकमा पुँजी बजारका नियामक निकाय, बजार सञ्चालक, व्यवसायी तथा लगानीकर्ता प्रतिनिधिहरू सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।

उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ पनि सहभागी हुँदै छन्।

प्रधानमन्त्री शाहले यसअघि पनि पुँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजार सुधारका विषयमा सार्वजनिक रूपमा चासो व्यक्त गर्दै आएका छन् । सोही निरन्तरतामा आयोजना गरिएको आजको छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावना तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

पुँजी बजारसँग प्रत्यक्ष सरोकार राख्ने नियामक, बजार सञ्चालक, व्यवसायी तथा विज्ञहरू एउटै मञ्चमा सहभागी हुने यस बैठकलाई बजार सुधारका लागि सरकारको आगामी प्राथमिकता र नीतिगत दिशाबारे महत्वपूर्ण संकेत दिने अवसरका रूपमा हेरिएको छ।

यसैगरी बैठकमा समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक चुनौती, वित्तीय क्षेत्रको स्थायित्व तथा पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउने उपायबारे पनि विस्तृत छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्