भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक आवेदन खुला
काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लक्षित गर्दै जग्गा व्यवस्थापन प्रक्रियाका लागि अन्तिमपटक आवेदन आह्वान गरेको छ।
राष्ट्रिय भूमि आयोगले जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन गर्ने उद्देश्यले आवेदन संकलन सुरु गरिएको हो।
आवेदन दिन इच्छुक व्यक्तिले आयोगले तोकेको ढाँचाअनुसारको निवेदन फाराम भरेर साउन ४ गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्नेछ।
आयोगले स्थानीय तहसँग समन्वय गरी वडास्तरमा खटाइएका लगत संकलकमार्फत आवेदन संकलन गर्ने व्यवस्था मिलाएको जनाएको छ। तोकिएको समयसीमाभित्र आवेदन नदिएपछि थप अवसर नदिइन सक्ने भएकाले सम्बन्धित व्यक्तिलाई समयमै प्रक्रिया पूरा गर्न आयोगले आग्रह गरेको छ।
















