कामना सेवा विकास बैंकले सुरु गर्यो नेपालपे कार्ड र कार्ड अक्वायरिङ सेवा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै नेपालपे कार्ड तथा कार्ड अक्वायरिङ सेवा सुरु गरेको छ।
बैंकले अब आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउने भएको छ। साथै बैंकका देशभर रहेका एटीएमबाट नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्डमार्फत पनि कारोबार गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार अन्य कार्ड स्किमसँगै राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत सञ्चालनमा रहेको नेपालपे कार्ड पनि ग्राहकलाई उपलब्ध गराइनेछ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेसँगै डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्डलाई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ। त्यस्तै, डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
हाल नेपालपे प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। तीमध्ये सात वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले कार्ड अक्वायरिङ सेवा सञ्चालनमा ल्याइसकेका छन्।
कामना सेवा विकास बैंकले हाल देशभर करिब ८ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकका १२२ शाखा, एक एक्सटेन्सन काउन्टर र ६६ वटा एटीएम सञ्चालनमा छन्। पछिल्लो समय बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई थप आधुनिक र प्रभावकारी बनाउँदै आएको जनाएको छ। साथै डिजिटल बैंकिङ सेवाको पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ।
















