दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’ गर्ने तयारीमा छन् प्रधानमन्त्री बालेन ?
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको ‘नवीन अग्रसरता’ को चर्चा, नेप्सेले देखायो हरियो झण्डा, लगानीकर्तामाझ दशैँ अघि नै रेकर्ड ब्रेक हुने नयाँ आशा।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारप्रति निकै कठोर रबैया प्रदर्शन गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले भने बजारलाई कीर्तिमानी उचाइमा डोर्याउने पहल थालेको हल्ला बाहिर आएको छ ।
यही कारण पछिल्ला दुई दिनमा नेप्से परिसूचक फराकिलो अन्तरले बढ्न थालेको छ ।
गत सोमबार २५७० अंकसम्म झरेर उकालो लाग्न थालेको नेप्से शुक्रबार एकै दिन ८० अंकको फराकिलो बृद्धि समात्न पुग्यो । सोमबार पनि बजार खुलेयता ३० अंक हाराहारी बढिसकेको छ ।
गत असार ३ गतेपछि पहिलो पल्ट नेप्से परिसूचक आज २७०५ अंकभन्दा माथि उक्लिएको छ । नेप्से अन्तिम पल्टको चुुचुरो पुग्दा गत चैत १० मा २९६० अंकसम्म पुगेर झरेको थियो ।
त्यसो त विगत दुई वर्षदेखि नै नेप्सेले करीब २५५० देखि २८०० अंकको बीचमा ‘साइडवेज मुभमेन्ट’ तयार पारेको छ । अहिले पनि नेप्से यही करीडोरबो बीचतिर चलिरहेको छ ।
दोस्रो तलामा नेप्से

आजभन्दा दुई वर्ष अधिको साउन ३ गते नेप्से २४२४ अंकमा बन्द भएको थियो । ठीक दुई वर्षपछि यो सूचक २६७७ अंकमा पुगेको छ । आजभन्दा पाँच वर्ष अघि २०७८ भदौ २ मा नेप्से परिसूचकले ३२०० अंक चुमेर ओर्लिन थालेपछि अहिले दोस्रो ‘तला’ को साइडवेज मुभमेन्ट देखिएको छ ।
यो कीर्तिमानी उचाईबाट घट्न थालेपछि नेप्से १८५० अंकभन्दा तल झरेको थियो । त्यसपछि नेप्से १८५० देखि २१०० अंकको बीचमा २ वर्षभन्दा बढी समय ‘साइटवेज मुभमेन्ट’ बनाएर बस्यो । दुई वर्षअघि मध्ये–असारबाट उकालो लाग्न थालेको नेप्से साउन मसान्तसम्म पुग्दा केवल डेढ महिनामा करीब १००० अंक उक्लियो ।
मानौँ, नेप्सेले यस पल्ट एक तला थप्यो । यसरी ३००० अंक पुगेको नेप्से आफ्नो अल्पकालिन बृद्धिबाट करीब ५० प्रतिशत हाराहारीसम्म झर्यो । त्यसपछि फेरि नयाँ साइडवेज मुभमेन्टमा प्रवेश गरेको छ ।
यसरी दुई–दुई वर्षको अन्तरालमा नेप्सेले ‘जम्प’ मार्ने पछिल्लो ‘साइकल’ अब लगभग पुरा भएको छ । यही बेला प्रधानमन्त्रीको ‘नवीन अग्रसरता’ सम्बन्धी खबर बजारमा फैलिन थालेको हो ।
प्रधानमन्त्री के चाहन्छन् ?

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीलाई नराखी विभिन्न क्षेत्रका व्यवसायीहरुसँग आफैँ छलफल थालेका छन् । देशभर व्यवसायीहरु निरुत्साहित भएको, लगानीको वातावरण धमिलिएको र मुलुकबाट पूँजी पलायन बढ्न थालेको खबरहरुका बीच प्रधानमन्त्रीले व्यवसायीलाई भेट्न थालेका हुन् ।
सोही क्रममा आज सोमबार शेयर बजार सम्बद्ध व्यवसायीहरु भेट्ने पालो छ ।
प्रधानमन्त्रीले शेयर बजार सम्बद्ध व्यक्तिहरुलाई भेटेर छलफल गर्नु अघि नै नेप्सेले ‘हरियो झण्डा’ देखाइसकेको छ ।
अहिले शेयर बजारका ठूला लगानीकर्ता र ब्रोकरहरुबीच यस्तो हल्ला भिँजिएको छ, जसले बजारलाई उकास्न मद्दत गरिरहेको विश्लेषण धेरैको छ ।
‘बालेनले दशैँ अघि नै शेयर बजारलाई रेकर्ड स्तरमा पुर्याउने भन्नु भएको छ रे’, एक जना लगानीकर्ताले भने, ‘अस्ति गभर्नरसँगको भेटमा पनि त्यसबारेमा छलफल भएको कुरा आएको छ । त्यसो भयो भने अब बजारले एक पल्ट बूलरन देख्छ ।’
‘रेकर्ड स्तर’ भनेको नेप्से परिसूचक ३२०० अंकभन्दा माथि जानु हो । त्यो स्तरमा नेप्से पुग्दा अहिले कारोबार भइरहेको थुप्रै कम्पनीको शेयरको भाउ दोब्बर हुनसक्ने अनुमान लगानीकर्ताको छ ।
नेपालमा राजनीतिक नेतृत्व र नियामकहरुले बजारलाई बारम्बार प्रभावित पार्दै आएका छन् । राष्ट्र बैंकका नीतिहरु यस काममा सबैभन्दा बढी प्रभाव पार्ने तत्वका रुपमा देखिएका छन् ।
यस अघि पनि शेयर बजार उचालिएपछि राष्ट्र बैंकले ‘४–१२ नीति’ अर्थात् एउटै कम्पनीको शेयरमा लगानी गर्न पाउने सीमा ४ करोड र सबै शेयरमा कुल ऋण लिन पाउने सीमा १२ करोड बनाइदिएपछि बजार ‘गर्ल्याम–गुर्लुम्म’ ढलेको थियो ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुलाई एक पल्ट किनेको शेयर एक वर्ष अवधि नपुगेसम्म बेच्न नपाइने नियम लगाइएको थियो । यस्ता नियमनले शेयर बजारलाई ठूलो प्रभाव पार्यो ।
अहिले शेयरमा लगानी गरेको पैसाको सम्पत्ति खोज्ने कुराले अर्को समस्या पारेको छ । तर त्यस्ता विषयहरुमा लचकता अपनाए शेयर बजार पुन: उकालो लाग्ने लगानीकर्ताको विस्वास छ ।
‘अहिले बैंकमा थेगिनसक्नु तरलता छ । त्यो पैसाको सदुपयोग हुन नसकेर वित्तीय प्रणाली नै अप्ठेरोमा परेको बेला छ । शेयर बजार पनि ५ वर्षदेखि न्यून स्तरमा छ’, एक लगानीकर्ता भन्छन्, ‘यस्तो बेला सरकारले चाह्यो भने बजारमा उभार ल्याएर लगानीकर्ताको मनोबल र आन्तरिक बजारको गतिशीलता दुबै बढाउन सक्छ ।’
यद्यपि, प्रधानमन्त्रीको चाहना बजारलाई बढाउने नै हो वा त्यसलाई नियमित गरेर लैजाने हो भन्ने स्पष्ट छैन । तर शेयर बजारमा लगानीकर्ताको मनोबललाई प्रभावित पार्न हल्ला पनि काफी छ ।
















