मध्यपूर्व तनाव बढेसँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर नाघ्यो
काठमाडौं। मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव चुलिँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि तीव्र रूपमा बढेको छ। सम्भावित आपूर्ति अवरोधको चिन्ताले विश्व ऊर्जा बजारमा दबाब बढ्दै जाँदा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९० डलर नाघेको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य २.३३ प्रतिशत अर्थात् २.०५ डलरले वृद्धि भएर प्रतिब्यारेल ९०.१५ डलर पुगेको छ। यो मूल्य जुन ११ यताकै उच्च हो। यसअघि पनि गत साता मात्रै ब्रेन्ट क्रुडको मूल्य करिब १५.९ प्रतिशतले उकालो लागेको थियो, जुन अप्रिलयताकै सबैभन्दा ठूलो साप्ताहिक वृद्धि मानिएको छ।
त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको मूल्य पनि २.१३ प्रतिशत अर्थात् १.७६ डलरले बढेर प्रतिब्यारेल ८४.२५ डलर पुगेको छ।
विश्लेषकहरूका अनुसार तेलको मूल्य बढ्नुको प्रमुख कारण मध्यपूर्वमा बढ्दो द्वन्द्व र विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मुजमा उत्पन्न भएको अनिश्चितता हो।
यसैबीच, अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा सैन्य गतिविधि थप तीव्र बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाले लगातार नवौँ रातसम्म इरान लक्षित आक्रमण जारी राखेको तथा इरानसँग निकट समूहहरूले खाडी क्षेत्रका केही अमेरिकी साझेदार मुलुकहरूमा आक्रमण गरेको खबर सार्वजनिक भएका छन्।
यता, इरानी रिभोलुसनरी गार्डले स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा दुई वटा तेल ट्यांकरमा विस्फोट भएको दाबी गरेको छ। उक्त घटनापछि समुद्री यातायातको सुरक्षा र विश्व ऊर्जा आपूर्तिमा थप असर पर्न सक्ने चिन्ता बढेको छ।
















