सेयर बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सिंहदरबारमा आयोजित पुँजी बजारसँग सम्बन्धित नियामक निकाय, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री शाहले बजारलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउने दिशामा सरकार सक्रिय रहने बताएका हुन्।
उनले छलफलका क्रममा व्यवसायी तथा सरोकारवालाले प्रस्तुत गरेका व्यावहारिक सुझाव र मागहरू सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक निर्णय प्रक्रियामा लैजाने आश्वासन दिए। साथै, नयाँ समिति गठन गरेर समय खर्चिनुभन्दा सम्बन्धित निकायहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर तत्काल सुधारका काम अघि बढाउनुपर्नेमा उनको जोड थियो।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीका अनुसार बैठकमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, बजारमा माग र आपूर्तिको सन्तुलन कायम गर्ने, करसम्बन्धी अन्योल अन्त्य गर्ने तथा घाटा समायोजन पछि मात्रै कर लिने व्यवस्था लागू गर्न सुझाव प्रस्तुत गरिएको थियो।
त्यसैगरी, ब्रोकर कम्पनीमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने विषय पनि उठाइएको रेग्मीले जानकारी दिए।
छलफलमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरी आधुनिक प्रविधिमैत्री बनाउने, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लागू गरेको १० कित्ते नीतिको पुनरावलोकन गर्ने तथा योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासनलाई प्रभावकारी बनाउने विषयमा समेत सुझाव प्रस्तुत गरिएको थियो।
बैठकमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल तथा पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
















