बजेट कार्यान्वयन सम्बन्धी अर्थ मन्त्रालयको मार्गदर्शन जारी, समयमै खर्च गर्न निर्देशन
काठमाडौं। आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै अर्थ मन्त्रालयले बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन सबै मन्त्रालय, विभाग तथा सरकारी निकायका लागि विस्तृत मार्गदर्शन जारी गरेको छ।
‘आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत मन्त्रालयले बजेट खर्चको प्रभावकारिता, वित्तीय अनुशासन, सुशासन तथा उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग सुनिश्चित गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको हो।
मार्गदर्शनमा विनियोजन ऐन, २०८३ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै बजेट कार्यान्वयनमा मितव्ययिता, दक्षता र परिणाममुखी कार्यशैली अपनाउन जोड दिइएको छ।
अर्थ मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रमअनुसार तोकिएको समयभित्र बजेट खर्च गर्न, खर्च हुन नसक्ने रकम समयमै समर्पण गर्न तथा लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टममा दोहोरिएका आयोजना र कार्यक्रम हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
त्यस्तै, विकास आयोजना तथा कार्यक्रमको नियमित अनुगमन, मासिक र त्रैमासिक प्रगति समीक्षा, सार्वजनिक खरिद प्रक्रिया समयमै सम्पन्न गर्ने, पुँजीगत खर्चको गति बढाउने र वित्तीय उत्तरदायित्व सुनिश्चित गर्ने विषयलाई पनि मार्गदर्शनले प्राथमिकतामा राखेको छ।
मन्त्रालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सवारीसाधन, फर्निचर, उपकरणजस्ता अनावश्यक खरिदमा नियन्त्रण गर्न, वैदेशिक भ्रमण तथा प्रशासनिक खर्चलाई आवश्यकताअनुसार सीमित राख्न तथा उपलब्ध स्रोतलाई उत्पादनमूलक र उच्च प्राथमिकताका क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको छ।
यसका साथै राजस्व संकलन, सार्वजनिक खर्च व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, लेखापरीक्षण, बेरुजु फर्छ्योट, सार्वजनिक खरिद, अनुदान तथा वैदेशिक सहायता परिचालनका विषयमा समेत स्पष्ट कार्यदिशा तय गरिएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार यो मार्गदर्शनको मुख्य उद्देश्य बजेट कार्यान्वयनलाई थप उत्तरदायी, पारदर्शी र उपलब्धिमूलक बनाउँदै आर्थिक वर्ष २०८३/८४ का कार्यक्रम तथा आयोजना तोकिएको समयसीमाभित्र सम्पन्न गराउनु हो। बजेट खर्चमा हुने ढिलाइ, कमजोर कार्यान्वयन क्षमता तथा स्रोतको दुरुपयोग न्यूनीकरण गर्न पनि यो मार्गदर्शन उपयोगी हुने विश्वास मन्त्रालयको छ।
















