चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री



काठमाडौं । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेट गरेको छ। भेटका क्रममा नेपाल र चीनबीच चलचित्र, संस्कृति तथा पर्यटन क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको थियो।

भेटवार्तामा मन्त्री डा. तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सशक्त बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रममार्फत द्विपक्षीय सम्बन्ध मजबुत हुने उल्लेख गर्दै सरकारले आवश्यकताअनुसार सहयोग गर्न सकारात्मक रहेको उनले बताए।

उनका अनुसार चलचित्र महोत्सवले दुई देशबीच सरकारी तहसँगै नागरिकबीचको सम्बन्ध विस्तार गर्न र पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय भूमिका खेल्दै आएको छ। त्यसैले आपसी हित र साझा उद्देश्यलाई केन्द्रमा राखेर आगामी दिनमा पनि नेपाल–चीन सहकार्यलाई निरन्तर अघि बढाउनुपर्ने आवश्यकता मन्त्री तिमिल्सिनाले औंल्याए।

उनले चीन नेपालका प्रमुख पर्यटक स्रोत मुलुकमध्ये एक भएको उल्लेख गर्दै नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे। साथै, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार र विश्वव्यापी पहुँच अभिवृद्धिका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

यसैबीच एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बताएका छन् ।

उनका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ तारिखसम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङ शहरमा आयोजना गरिएको महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकामा ११ वटा चलचित्र प्रारम्भिक छनोटमा परेका थिए । त्यसपछि चिनियाँ सेन्सर प्रक्रियाबाट अन्तिम रूपमा ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए ।

उक्त चलचित्रहरू चिनियाँ सबटाइटलसहित सम्बन्धित चिनियाँ निकायको स्वीकृतिपछि चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्