देशभरका १३ स्थानीय तहले अझै ल्याएनन् चालु आर्थिक वर्षको बजेट
काठमाडौँ। देशभरका १३ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट हालसम्म पनि सार्वजनिक गरेका छैनन्। कुल ७५३ स्थानीय तहमध्ये ७४० वटा स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाइका छन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। तर केही स्थानीय तहमा देखिएको राजनीतिक विवाद, प्राविधिक समस्या तथा अन्य आन्तरिक कारणले समयमै बजेट आउन नसकेको बताइएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार बजेट सार्वजनिक गर्न बाँकी अधिकांश स्थानीय तह मधेश प्रदेशका रहेका छन्। मधेश प्रदेशका मात्रै १० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका छैनन्।
बजेट सार्वजनिक गर्न नसकेका स्थानीय तहमध्ये सिराहाको सुखीपुर नगरपालिका र औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटका गरुडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन्।
त्यस्तै पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन्।
यसैगरी कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित कोटहीमाई गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले पनि हालसम्म बजेट प्रस्तुत गरेका छैनन्।
कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३६ वटा स्थानीय तहले बजेट ल्याइसकेका छन्। यता वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया सुरु गरिसकेका छन्।













