प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, जग्गा घुस लिएको अख्तियारको आरोप
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी फेरि एकपटक कानुनी घेरामा तानिएका छन्। सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति उपार्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो।
विशेष अदालतमा पुगेको यो प्रकरणसँगै उड्डयन क्षेत्रमा लामो समय प्रभावशाली मानिएका अधिकारीको सार्वजनिक जीवनमा गम्भीर प्रश्न उठेको छ।
अनुसन्धानका क्रममा अधिकारीले ठेक्कापट्टा र व्यावसायिक लाभका बदला अनुचित फाइदा उठाएको भेटिएको दाबी अख्तियारले गरेको छ।
आयोगका अनुसार गायत्री निर्माण सेवाका सञ्चालक प्रेमप्रकाश ढकालसँग जोडेर अधिकारीले १३ आना जमिन आफ्नो नाम वा आफन्तको स्वामित्वमा पुर्याएका थिए। राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा बसेर निजी स्वार्थका लागि शक्तिको अभ्यास गरिएको र त्यसैमार्फत सम्पत्ति शुद्धीकरणको आधार तयार पारिएको ठहर छानबिन टोलीले गरेको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार चलाइएको यस मुद्दामा अख्तियारले अधिकारीसँग १ करोड ७१ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। अवैध मानिएको सो रकम जफत गरी हदैसम्मको सजाय हुनुपर्ने मागदाबीसहित विशेष अदालतमा आरोपपत्र पेस गरिएको छ।













