बैंकिङ प्रणालीबाट आज १ खर्ब रुपैँया निक्षेप संकलन गर्दै राष्ट्र बैंक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकिङ प्रणालीबाट आज १ खर्ब रुपैँया निक्षेप संकलन गर्दै राष्ट्र बैंक



काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज पनि १ खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले उक्त निक्षेप संकलन गर्न लागिएको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत १ खर्बको निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी मिति २०८३ असोज २७ गते तोकिएको छ ।

बोलकबोलमा न्यूनतम १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप संकलन उपकरणमार्फत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ।

बैंकले निक्षेप सङ्कलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ । यसमा सङ्कलित रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्