स्थानीय तहका बेथितिमा अब मुख्यसचिवको निगरानी, ‘हेलो सरकार’बाट उजुरी गर्न सकिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्थानीय तहका बेथितिमा अब मुख्यसचिवको निगरानी, ‘हेलो सरकार’बाट उजुरी गर्न सकिने



काठमाडौं। स्थानीय तहबाट प्रवाह हुने सेवामा हुने ढिलासुस्ती, भ्रष्टाचार तथा विकास निर्माणका काममा देखिने अनियमितताप्रति अब मुख्यसचिवले प्रत्यक्ष रूपमा निगरानी गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनाअनुसार स्थानीय तहसँग सम्बन्धित नागरिकका गुनासोको सुनुवाइलाई प्रभावकारी बनाउन मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा विशेष निगरानी र समन्वयको व्यवस्था गरिएको हो।

पछिल्लो समय स्थानीय तहमा सेवा प्रवाह, ठेक्का तथा पूर्वाधार निर्माणका काममा ढिलाइ, अनियमितता र सुशासनसम्बन्धी गुनासो बढ्दै गएपछि नागरिकका समस्या छिटो सम्बोधन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले ‘हेलो सरकार’ पोर्टल तथा अन्य गुनासो व्यवस्थापन प्रणालीमार्फत प्राप्त उजुरीको अध्ययन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइने जानकारी दिएका छन्।

स्थानीय तहसँग सम्बन्धित ढिलासुस्ती, भ्रष्टाचार वा विकास निर्माणमा भएको अनियमितताबारे नागरिकले ‘हेलो सरकार’को वेबसाइट gunaso.opmcm.gov.np , हटलाइन नम्बर ११११, मोबाइल एप तथा क्यूआर कोडमार्फत उजुरी दर्ता गर्न सक्नेछन्।

सरकारले यस्ता गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै स्थानीय तहको सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमुखी बनाउने लक्ष्य लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्