ट्रम्पका ट्रुथ सोसल पोस्टमा छिटो पहुँच बेच्दै मिडिया कम्पनी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रम्पका ट्रुथ सोसल पोस्टमा छिटो पहुँच बेच्दै मिडिया कम्पनी



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडिया कम्पनीले ट्रुथ सोसलका पोस्ट वाल स्ट्रिटका वित्तीय संस्थालाई अरूभन्दा छिटो उपलब्ध गराउने सशुल्क सेवा सुरु गर्ने भएको छ।

रोयटर्सका अनुसार ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) ले अगस्ट १ देखि ‘ट्रुथ एपीआई’ सेवा सञ्चालनमा ल्याउँदै बैंक, हेज फन्ड र अल्गोरिदमिक ट्रेडिङ कम्पनीलाई ट्रम्पसहित १० प्रभावशाली खाताका पोस्टमा प्राथमिक पहुँच दिनेछ।

स्रोतका अनुसार सेवाको शुल्क मासिक एक लाख अमेरिकी डलरसम्म हुनेछ भने तीन वर्षे सम्झौताका लागि मासिक ६० हजार डलर तोकिएको छ। कम्पनीले ट्रम्पका पोस्टले वित्तीय बजारमा प्रभाव पार्ने भएकाले केही मिलिसेकेन्डको अग्रता पनि मूल्यवान् हुने दाबी गरेको छ।

योजनाको अमेरिकी डेमोक्र्याट सांसदहरूले आलोचना गरेका छन् भने कानुनी विज्ञहरूले यस्तो व्यवस्था अमेरिकी धितोपत्र कानुनअनुसार सामान्यतः वैध भए पनि यसको नैतिक पक्षमाथि प्रश्न उठेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्