आईक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले लिए शपथ
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
काठमाडौंस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा आईक्यानको १०औँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेलाई महालेखापरीक्षक तोयम रायाले शपथ गराएका थिए। यस्तै, उपाध्यक्ष सिए फ्लेलाई अध्यक्ष वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गत असार ३२ गते सम्पन्न आईक्यानको निर्वाचनबाट वाग्ले अध्यक्ष र काफ्ले उपाध्यक्षमा निर्वाचित भएका थिए।
शपथ ग्रहणपछि अध्यक्ष वाग्लेले लेखा तथा लेखापरीक्षण पेशाको विश्वसनीयता अझ सुदृढ बनाउने, संस्थाको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा डिजिटल रूपान्तरणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, सदस्यहरूको व्यावसायिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए।
उपाध्यक्ष काफ्लेले व्यावसायिक आचारसंहिता, गुणस्तरीय लेखापरीक्षण, युवा चार्टर्ड एकाउन्टेन्टहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा विशेष जोड दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा आईक्यानका पदाधिकारी, सदस्य तथा विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधिहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। सो अवसरमा महालेखापरीक्षक रायाले आईक्यानको आधिकारिक लोगो पनि सार्वजनिक गरेका थिए।
यही कार्यक्रममा बंगलादेशमा आयोजित साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) क्विज तथा पब्लिक स्पिकिङ कन्टेस्ट २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो।
‘साफा क्विज २०२५’मा संयुक्त विजेता बनेका दिवश अधिकारी र सम्पन्न सिलवाललाई सम्मान गरिएको थियो। त्यस्तै, ‘पब्लिक स्पिकिङ कन्टेस्ट २०२५’मा विजेता बनेका रिजन थापा तथा प्रथम उपविजेता कश्यप राज श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
नेपालमा चार्टर्ड एकाउन्टेन्ट तथा दर्तावाला लेखापरीक्षकहरूको नियमन गर्ने आधिकारिक निकायका रूपमा रहेको आईक्यान ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, १९९७’ अन्तर्गत स्थापना भएको संस्था हो। संस्थाले व्यावसायिक मापदण्ड निर्धारण, परीक्षा सञ्चालन, तालिम तथा पेशागत विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।













