७ श्रावण २०८३, बिहिबार

अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि प्रवर्द्धनलाई प्राथमिकतामा राखिने बताएका हुन्।

छलफलमा पदाधिकारीहरूले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रिया खर्चिलो रहेको उल्लेख गर्दै नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने माग राखेका थिए। सो मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

यस्तै, उनले रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

शाहले प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस्