नेपाल रिको ९ महिनाको वित्तीय अवस्था सार्वजनिक: यस्तो छ आम्दानी र खर्चको अवस्था
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीद्वारा प्रकाशित विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी ५ अर्ब ८४ करोड २ लाख ९५ हजार ३३८ रुपैयाँ खुद घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधि (गत वर्षको तेस्रो त्रैमास) मा कम्पनीले ५४ करोड ८२ लाख ३७ हजार ९४२ रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी घट्नु र कुल खर्चमा भारी वृद्धि हुनुका कारण खुद नाफा प्रभावित भई कम्पनी घाटामा गएको हो। कम्पनीको कुल आम्दानी गत वर्षको सोही अवधिको तुलनामा घटेर ६ अर्ब ६८ करोड १६ लाख ६७ हजार २५५ रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ८ अर्ब ५७ करोड १७ लाख १ हजार २७८ रुपैयाँ रहेको थियो।
कम्पनीको खुद अर्जित बीमाशुल्क पनि घटेको छ। गत वर्षको तेस्रो त्रैमासम्म ७ अर्ब ११ करोड ९९ लाख ६४ हजार आठ रुपैयाँ खुद अर्जित बीमाशुल्क रहेकोमा चालू वर्षको सोही अवधिमा घटेर ५ अर्ब ८३ करोड ७५ लाख १९ हजार ९२९ रुपैयाँमा झरेको छ।
चालू वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको कुल अर्जित बीमाशुल्क ६ अर्ब ७९ करोड ८५ लाख ७८ हजार ९३२ रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिमा ७ अर्ब ८३ करोड ५३ लाख ३७ हजार ६३० रुपैयाँ रहेको थियो।
यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म ७ अर्ब ७८ करोड ८५ लाख ४ हजार २१८ रुपैयाँ रहेको कुल खर्च चालू वर्षको सोही अवधिमा बढेर १२ अर्ब ५२ करोड १९ लाख ६२ हजार ५९३ रुपैयाँ पुगेको छ। कुल दाबी भुक्तानी खर्च तथा अन्य प्राविधिक दायित्व बढेका कारण कुल खर्चमा वृद्धि भएको देखिएको छ।
कम्पनी घाटामा गएसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक बनेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमासमा ५.४५ रुपैयाँ धनात्मक रहेको वार्षिक प्रतिशेयर आम्दानी चालू वर्षको सोही अवधिमा ४३.५१ रुपैयाँ ऋणात्मक पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९.२० रुपैयाँ रहेको छ।













