अविरल वर्षा र पहिरोले देशभरका एक दर्जन मुख्य सडक पूर्ण रूपमा अवरुद्ध, खुलाउने प्रयास जारी
काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र बाढीका कारण मुलुकभरका विभिन्न राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख सडकहरू वर्षा र पहिरोका कारण अवरूद्ध हुँदा यातायात सेवा ठप्प भएको छ।
आज बिहान ६:३० बजेसम्म प्राप्त विवरण अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६, माम्खामा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इलामको इलाम नगरपालिका-९, राजदुवालीमा पहिरो जाँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि त्यहाँ वैकल्पिक बाटोको व्यवस्था रहेको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४, जिरोकिलो र वडा नं. २, कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। रसुवाको गोसाईँकुण्ड गाउँपालिका-३, कुलुङमा पहिरो जाँदा पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी चल्ने वि.पि. राजमार्ग र मकवानपुरको हेटौँडा-ठिंगन-बागमती-ललितपुर जोड्ने कान्तिलोकपथमा सम्भावित बाढी र पहिरोका कारण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दोलखाको तामाकोशी गाउँपालिका-५, किर्नेटारमा बाढीका कारण लामासाघु-रामेछाप राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक बाटो खुलाइएको छ।
गण्डकी प्रदेशतर्फ बागलुङको जैमिनी नगरपालिका-८, बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर र लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, म्याग्दे भिरमा पहिरो जाँदा बेसिसहर-च्यामे मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लुम्बिनी प्रदेशको रोल्पा, परिवर्तन गाउँपालिका-१, खोलाबाङमा पहिरो खस्दा घोराही थवाङ शहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका-६, रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड र मुगुको छायानाथ रारा नगरपालिका-७, पिना खोलामा पहिरो जाँदा नाग्म-गमगडी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। सुदूरपश्चिम प्रदेशको अछामस्थित पञ्चदेवल विनायक नगरपालिका-४, पानीखोलामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
अहिले सुरक्षा निकाय र स्थानीय प्रशासनको समन्वयमा अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।













