८ श्रावण २०८३, शुक्रबार

सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना, ट्राफिक नियम उल्लंघन गरेकोमा क्षमायाचना



काठमाडौं। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचेको दृश्य सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै प्रहरीले उनलाई ५ सय रुपैयाँ जरिबाना गरेको हो। सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता आफैं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर जरिबाना रकम बुझाएको प्रहरीले जनाएको छ।

केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गुप्ता चलिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो बनाइरहेको देखिएका थिए। उक्त दृश्य भाइरल भएपछि सार्वजनिक पदमा रहेका व्यक्तिले समेत ट्राफिक नियम पालना गर्नुपर्ने विषयमा व्यापक बहस भएको थियो।

भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले आवश्यक अनुसन्धान गरी प्रचलित नियमअनुसार गुप्तामाथि ५ सय रुपैयाँ जरिबाना गरेको जनाएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा फरक–फरक प्रतिक्रिया देखिएका छन्। केहीले कानुन सबैका लागि समान रूपमा लागू भएको भन्दै ट्राफिक प्रहरीको कदमको प्रशंसा गरेका छन् भने अन्यले यस्तो जोखिमपूर्ण व्यवहारका लागि ५ सय रुपैयाँ जरिबाना पर्याप्त नभएको टिप्पणी समेत गरेका छन्।

विवाद बढेपछि सांसद गुप्ताले फेसबुकमार्फत सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार्दै क्षमायाचना समेत गरेका छन्। उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा उत्साहका कारण रमाइलो गर्ने क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्