नेप्सेमा आयो प्राविधिक गडबडी, सूचक १००८.९३ अंकले घटेको देखियो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन प्रणालीमा बिहीबार साँझ प्राविधिक समस्या देखिएपछि सेयर लगानीकर्ताबीच अन्योलको अवस्था सिर्जना भएको छ। नियमित कारोबार सकिएपछि नेप्से परिसूचक अचानक १,००८.९३ अंक अर्थात् करिब ३७ प्रतिशतले घटेर १,७१७.७९ विन्दुमा पुगेको विवरण वेबसाइटमा देखिएको थियो। यो तथ्यांक सार्वजनिक भएपछि धेरै लगानीकर्ताले बजारमा कुनै असामान्य घटना भएको हो कि भन्ने आशंका गरेका छन्।
तर, बिहीबारको नियमित कारोबार भने सामान्य रूपमा सम्पन्न भएको थियो। कारोबार अवधिको अन्त्यमा नेप्से परिसूचक ७.९० अंकले वृद्धि भएर नेप्से ७.९० अंकले बढेर २७ सय ३४ दशमलव ६३ बिन्दुमा रोकिएको थियो।
कारोबार बन्द भएको केही मिनेटपछि मात्रै वेबसाइटमा परिसूचक अस्वाभाविक रूपमा घटेको देखिएकाले यो वास्तविक बजार कारोबारको नतिजा नभई प्रणालीमा आएको प्राविधिक त्रुटिको परिणाम हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।













