१० श्रावण २०८३, आइतबार

त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्थापनमा ब्यापक कडाइ, मदिरा सेवन गर्ने कर्मचारीमाथि तत्काल कारबााही



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एअरसाइड (विमान सञ्चालन क्षेत्र) को सुरक्षा तथा सञ्चालन प्रणालीलाई थप प्रभावकारी बनाउन नयाँ सुरक्षा कार्यविधि कार्यान्वयनमा ल्याएको छ।

नागरिक उड्डयन कार्यालयले लागू गरेको ‘एअरसाइड सेफ्टी अपरेसन प्रोसिजर’ मार्फत विमानस्थलभित्र हुने गतिविधिलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यवस्थित गर्ने लक्ष्य राखिएको छ।

नयाँ कार्यविधिअनुसार एअरसाइड क्षेत्रमा कार्यरत चालक, ग्राउन्ड ह्यान्डलिङ कर्मचारी तथा प्राविधिकलाई ड्युटीअघि वा ड्युटीकै समयमा कुनै पनि बेला आकस्मिक रूपमा श्वास परीक्षण (ब्रीथ अल्कोहल टेस्ट) गर्न सकिनेछ। परीक्षणमा मदिरा वा लागूऔषध सेवन गरेको पुष्टि भए सम्बन्धित व्यक्तिको विमानस्थल प्रवेश अनुमति (एयरपोर्ट पास) तत्काल खारेज गरिनेछ र प्रचलित नियमअनुसार कारबाही अघि बढाइनेछ।

यात्रु सेवासम्बन्धी व्यवस्थामा पनि थप सावधानी अपनाइएको छ। ह्विलचेयर प्रयोगकर्ता तथा फरक क्षमता भएका यात्रुलाई जहाजसम्म पुर्‍याउन एम्बुलिफ्टको प्रयोग अनिवार्य गरिएको छ। त्यस्तै, विमानको इन्जिन पूर्ण रूपमा बन्द भएपछि मात्र यात्रु बोक्ने बस विमान नजिक लैजान पाइने व्यवस्था गरिएको छ।

विमानस्थल परिसरमा चराचुरुंगीको जोखिम न्यूनीकरण गर्न विशेष व्यवस्था गरिएको छ। बागमती र मनोहरा नदी नजिकको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै र्‍याम्प क्षेत्रमा खानेकुरा सेवन गर्न वा खुला रूपमा फोहोर फाल्न पूर्ण प्रतिबन्ध लगाइएको छ। खुला खाद्यवस्तु र फोहोरले चरा तथा छाडा जनावर आकर्षित गरी उडान सुरक्षामा असर पार्न सक्ने भएकाले सबै फोहोर ढकनी भएको भाँडोमा संकलन गरी सोही दिन विमानस्थल बाहिर व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

उता, विमानस्थलमा एउटै मात्र धावनमार्ग रहेकाले त्यसको नियमित निरीक्षणलाई पनि थप व्यवस्थित बनाइएको छ। कार्यविधिअनुसार धावनमार्गको दैनिक कम्तीमा दुई पटक अनिवार्य निरीक्षण गरिनेछ भने वर्षा, हावाहुरी वा अन्य प्रतिकूल मौसमको अवस्थामा आवश्यकताअनुसार अतिरिक्त निरीक्षणसमेत गरिनेछ।

नागरिक उड्डयन कार्यालयका अनुसार नयाँ सुरक्षा कार्यविधिको उद्देश्य विमानस्थलभित्र हुने सबै गतिविधिलाई सुरक्षित, अनुशासित र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुकूल बनाउँदै यात्रु तथा उडान सुरक्षालाई थप मजबुत बनाउनु हो।


प्रतिक्रिया दिनुहोस्