१० श्रावण २०८३, आइतबार

डिम्याट खाताको संख्या ८० लाख नाघ्दा सक्रिय खाता भने ५१ लाख मात्रै



काठमाडौं। नेपालमा डिम्याट खाताहरुको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्यांक अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका हुन्।

डिम्याट खाताको सँख्या ८० लाख नाघे पनि सक्रिय खाता भने कम रहेका छन्। एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्था भएकाले खाताहरुको सँख्या वास्तविक लगानीकर्ताभन्दा बढी देखिएको हो। यसरी धेरै खाताहरू दोहोरिएका छन्। त्यसैले कुल खातामध्ये सबै सक्रिय अवस्थामा छैनन्।

सीडीएससीका अनुसार हाल सक्रिय मेरो सेयर खाताको संख्या ५१ लाख ४८ हजार ८९४ मात्र रहेको छ अर्थात करिब २९ लाख डिम्याट खाता निष्क्रिय रहेको रहेका छन्।

त्यस्तै, हालसम्म डिम्याट प्रणालीमा रूपान्तरण भएका सेयरको संख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता पुगेको छ। तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कुल सेयर संख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ।

यसरी हेर्दा अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर डिम्याट प्रणालीमा रूपान्तरण हुन बाँकी रहेको देखिन्छ। ती सेयरधनीले अझै भौतिक सेयर प्रमाणपत्र सुरक्षित राखेका हुन सक्छन् वा केही प्रमाणपत्र हराएका अथवा नष्ट भएका हुन सक्ने अनुमान गरिएको छ।