अत्यावश्यक सवारीबाट सुरु हुँदै नागढुंगा सुरुङ मार्ग
अत्यावश्यक सवारीबाट सुरु हुँदै नागढुंगा सुरुङ मार्ग
काठमाडौं । काठमाडौं–धादिङ सडक यात्रालाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको नागढुंगा सुरुङमार्ग औपचारिक उद्घाटनको तयारीमा पुगेको छ। यद्यपि उद्घाटन सम्पन्न भए पनि सुरुङमार्ग तत्काल सबै सवारी साधनका लागि सञ्चालनमा आउने छैन। सुरक्षासम्बन्धी मापदण्ड र सञ्चालन प्रणालीको परीक्षणलाई ध्यानमा राख्दै यसलाई चरणबद्ध रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।
आयोजनाका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, प्रहरी, सेना, दमकल तथा अन्य आकस्मिक र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। यस अवधिमा सुरुङमार्गको वास्तविक सञ्चालन अवस्थाको परीक्षण गरिनेछ, जसअन्तर्गत ट्राफिक व्यवस्थापन, सुरक्षा संयन्त्र, विद्युतीय तथा सञ्चार प्रणाली, भेन्टिलेसन, निगरानी प्रणाली र आपतकालीन उद्धार व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गरिनेछ।
आयोजना प्रमुखका अनुसार सुरुङमार्ग सञ्चालनको सुरुआतमै ठूलो संख्यामा सवारी साधन प्रवेश गराउँदा व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले सीमित सवारीमार्फत परीक्षण सञ्चालन गर्ने योजना बनाइएको हो। यसबाट सम्भावित कमजोरी पहिचान गरी आवश्यक सुधार गर्न सहज हुने विश्वास गरिएको छ।
यो परीक्षण अवधि करिब ७ देखि १० दिन सम्म रहने अनुमान गरिएको छ। यद्यपि आवश्यक प्राविधिक परीक्षण र सुरक्षा मूल्याङ्कन निर्धारित समयभन्दा अघि नै सम्पन्न भए सर्वसाधारणका लागि सुरुङमार्ग छिट्टै खुला गर्न सकिने आयोजनाको भनाइ छ।
परीक्षण अवधिमा सञ्चालन हुने अत्यावश्यक सेवाका सवारी साधनबाट कुनै पनि शुल्क नलिने व्यवस्था गरिएको छ। परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि भने सर्वसाधारणका सवारी साधनलाई चरणबद्ध रूपमा प्रवेश अनुमति दिइनेछ। सुरुमा कार, जिप, भ्यान, पिकअपलगायत साना सवारी साधन सञ्चालनमा ल्याइने र त्यसपछि मात्रै बस तथा अन्य ठूला सार्वजनिक सवारी साधनलाई अनुमति दिइने योजना छ।
यसैबीच सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि लाग्ने दस्तुर पनि निर्धारण गरिसकेको छ। सडक बोर्ड ऐन, २०५८ बमोजिम हलुका सवारी साधन (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत) ले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनीबस तथा मिनी ट्रक/टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।
बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक, हेभी इक्विपमेन्ट तथा अन्य भारी सवारी साधनका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।













