११ श्रावण २०८३, सोमबार

आजबाट मुलुक व्यावसायिक सुरुङमार्गको युगमा प्रवेश, नागढुंगा सुरुङको ऐतिहासिक सञ्चालन

आजबाट मुलुक व्यावसायिक सुरुङमार्गको युगमा प्रवेश, नागढुंगा सुरुङको ऐतिहासिक सञ्चालन



नेपालले इतिहासमै पहिलोपटक सुरुङमार्गबाट व्यावसायिक यातायात सञ्चालनको युग सुरु गरेको छ, जसले काठमाडौँ छिर्ने नागढुंगा–नौबिसे खण्डमा ट्राफिक जामको सास्तीलाई घटाउने अपेक्षा गरिएको छ ।

काठमाडौँ । भलै सीमित नमुना कार्यक्रममा मात्रै किन नहोस्; रेल, रोपवे र ट्रली बसजस्ता आधुनिक यातायात प्रविधि भित्र्याएको दशकौँ बितिसक्दा पनि सडक यात्रामा भने हामीले सधैँ घुमाउरो र जोखिमपूर्ण नागबेली बाटो मात्रै भोग्नुपरेको थियो। तर आज, नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा ऐतिहासिक दिन थपिएको छ।

मुलुकले आजैदेखि औपचारिक रूपमा आधुनिक व्यावसायिक सुरुङमार्गको युगमा प्रवेश गरेको छ। राजधानी काठमाडौँको चन्द्रागिरि र धादिङको धुनिबेँसीलाई जोड्ने बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि विधिवत रूपमा सञ्चालनमा आउँदैछ।

दशकौँअघि विभिन्न वैकल्पिक यातायातका साधनहरू प्रयोगको अभ्यास गरिसकेको नेपालका लागि पक्की सडक सञ्जालमा सुरुङमार्गबाट व्यावसायिक सवारीसाधन चलाइएको यो पहिलो घटना हो, जसले नेपाली इन्जिनियरिङ र पूर्वाधार निर्माणमा एक नयाँ र गर्विलो अध्यायको ‘श्रीगणेश’ गरेको छ।

आज बिहान पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका उच्च पदस्थ अधिकारीहरूको विशेष उपस्थितिमा सुरुङमार्गको भव्य उद्घाटन हुँदैछ।

परियोजना स्थलमा आयोजना हुने यो विशेष समारोहमा मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले स्वयम् सुरुङभित्र गाडी हाँकेर ऐतिहासिक सवारी आवागमनको औपचारिक थालनी गर्नेछन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेको यो परियोजनामा सरकारले २७ अर्ब ५० करोड हाराहारी लगानी गरेको छ । यसको स्रोत जुटाउन राज्यले अफ्नो ढुकुटीबाट ६ अर्ब हालेको छ भने जापान सरकारबाट सहुलियतपूर्ण ऋण लिएर २१.५ अर्ब लगानी गरेको छ ।

यो भनेको निजी क्षेत्रले १०० रुपैयाँको परियोवजनामा २० देखि ३० रुपैयाँ आफ्नो पूँजी लगाएर बाँकी ७०–८० रुपैयाँ बैंकबाट ऋण लिने गरेको जस्तै हो । अर्थात् यो परियोजना जापानले बनाइदिएको होइन, उसले ऋण सुविधा दिएको हो । जुन ऋणको पैसा भविष्यष्यमा नेपाली जनताले तिरेको करबाट भुक्तान गर्नुपर्ने छ ।

सञ्चालनको सिलसिला

निर्माण सुरु भएको करिब ८० महिनाको लामो यात्रा, विभिन्न प्राविधिक जटिलता र व्यवस्थापकीय ढिलाइलाई छिचोल्दै तयार भएको यो सुरुङ अब नेपालको समग्र यातायात प्रणालीको मुहार फेर्ने मुख्य सारथि बन्नेछ।

यो सुरुङले वास्तवमै समय र दूरी उल्लेख्यमात्रामा घटाउने छैन । तर यसले नागढुंगाको उकालोमा लाग्ने जामलाई घटाउन मद्दत गर्ने छ । त्यसैले यसलाई नेपालमा व्यावहारिक रुपमा सानो, तर सांकेतिक रुपमा ठूलो र ऐतिहासिक उपलब्धी मानिएको छ ।

सुरुङमार्ग सञ्चालनको पहिलो दिन आज भने यसको सुरक्षा संयन्त्र र प्राविधिक तत्परताको गहिरो परीक्षण गर्ने विशेष योजना बनाइएको छ। सुरुङमार्गका उपआयोजना निर्देशक तथा सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार उद्घाटनको पहिलो दिन सुरुङभित्र एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्‌कालीन सवारीसाधनलाई मात्र प्राथमिकताका साथ प्रवेश दिइनेछ।

सुरुङको आन्तरिक वातावरण र आपत्‌कालीन सुरक्षा प्रणालीलाई पूर्ण रूपमा अभ्यस्त बनाउन चरणबद्ध रूपमा मात्र अन्य सवारीसाधनलाई भित्र्याइनेछ। सुरुङमार्गको यो सुरुवाती चरणमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन गरिनेछ भने केही दिनको परीक्षण कालभर यसको प्रयोग गर्नका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

परीक्षणको यो चरण सफलतापूर्वक सम्पन्न भएलगत्तै क्रमशः सार्वजनिक यातायात र त्यसपछि निजी चारपाङ्ग्रे सवारीसाधनका लागि पनि ढोका खुला गरिनेछ। तर, पैदलयात्री, साइकल, मोटरसाइकल, स्कुटर र अन्य दुई वा तीनपाङ्ग्रे सवारीसाधन तथा नन–मोटोराइज्ड सवारीलाई भने सुरुङभित्र प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ।

यसका साथै, सुरक्षाको अति संवेदनशील पाटोलाई मध्यनजर गर्दै पेट्रोल, डिजेल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ तथा कुनै पनि किसिमका विस्फोटक पदार्थ बोकेका ढुवानीका साधनलाई सुरुङमा प्रवेश गर्न सख्त मनाही गरिएको छ। यसको अर्थ ग्यासका विशाल बुलेट बोकेर आउने गाडी र पेट्रोलियम ढुवानी गर्ने ट्रकहरु सुरुङमा छिर्ने छैनन् । उनीहरु सुस्त गतिमा नागढुंगाको उकालो चढेरै चेकपोस्ट पार गर्ने छन् ।

आन्तरिक संरचना र आपत्‌कालीन व्यवस्थापन

कुल २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ र कुनै पनि दुर्घटना वा आपत्‌कालीन अवस्थामा उद्धारकार्यका लागि तयार पारिएको २,५५७ मिटर लामो अर्को सहायक सुरुङ यस आयोजनाका प्रमुख अङ्ग हुन्। परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङभित्र यात्रुहरूको मानवीय सुरक्षा र सहज आवागमनका लागि अक्सिजनको निरन्तर प्रवाह गर्ने अत्याधुनिक भेन्टिलेसन प्रणाली, सिसीटिभी क्यामेरा, आगो निभाउने उपकरण, सञ्चार संयन्त्र तथा दमकल र आकस्मिक उद्धारका साधनहरू पूर्ण रूपमा तयारी अवस्थामा राखिएका छन्।

सुरुङको प्रशासनिक तथा प्राविधिक सञ्चालनको जिम्मा प्रतिस्पर्धी बोलपत्र आह्वानमार्फत छनोट भएको दक्षिण कोरियाली कम्पनी युसिन–एआरटी जोइन्ट भेन्चरसँग पाँच वर्षका लागि गरिएको छ भने, सुरुङ निर्माण गर्ने जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले थप एक वर्षसम्म नियमित मर्मतसम्भारको जिम्मा सम्हाल्नेछ।

सुरुङलाई २४ घण्टा निर्बाध रूपमा सञ्चालन गर्न र सवारी व्यवस्थापन मिलाउन दिनको समयमा मात्रै करिब ४० जनासहित समग्रमा करिब १५० जना कर्मचारीहरू सिफ्ट अनुसार खटिनेछन्। पूर्ण क्षमतामा सञ्चालनमा आउँदा यो सुरुङ भएर दैनिक करिब ८ हजारवटा सवारीसाधन आवतजावत गर्ने अनुमान गरिएको छ, जसबाट वार्षिक रूपमा करिब ३५ करोड रुपैयाँसम्मको टोल राजस्व उठ्ने प्रक्षेपण गरिएको छ।

प्रविधिमैत्री टोल प्रणाली

यात्रु तथा चालकहरूको सहजताका लागि यस सुरुङमार्गमा अत्याधुनिक डिजिटल भुक्तानी प्रणाली जडान गरिएको छ। सडक विभागले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सुरुङ प्रवेश गर्दा निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसजस्ता हलुका सवारीसाधनले काठमाडौँ छिर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ टोल तिर्नुपर्नेछ।

यस्तै, मिनीबस, मिनी टिपर र ट्रकले काठमाडौँतर्फ आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ भने बस तथा एकल रियर एक्सल भएका ट्रकले आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ बुझाउनुपर्नेछ।

ठूला बहु-एक्सल ट्रक र हेभी उपकरण बोकेका सवारीसाधनका लागि भने काठमाडौँ छिर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ। यो टोल राजस्व सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ भने अपरेटिङ कम्पनीलाई सरकारले सम्झौता बमोजिम भुक्तानी गर्नेछ।

टोल शुल्क तिर्ने प्रक्रियालाई अतिसजिलो बनाउन रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित ‘एन–ट्याग’ को व्यवस्था गरिएको छ। सवारीसाधनमा टाँसिने यो स्टिकर क्यामेराले स्वतः पढ्नेछ । यसका लागि १०००, २००० र ५००० रुपैयाँसम्मको नगद ब्यालेन्स भएको एन–ट्याग कुमारी, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमा बैंकका शाखाहरूबाट लिन (किन्न) सकिनेछ।

यसका साथै बुथमा नगद तिर्ने र क्युआर कोडबाट भुक्तानी गर्ने सुविधासमेत उपलब्ध छ। यो सुरुङ सञ्चालनमा आएसँगै नागढुंगाको नागबेली उकालोमा हुने जाम र इन्धनको बर्बादीबाट चालक र यात्रुले मुक्ति पाउनेछन् ।

अन्य सुरुङमार्गको भविष्य

नागढुंगाको यो ऐतिहासिक सफलतासँगै नेपालका अन्य क्षेत्रमा पनि सुरुङमार्ग युगको ढोका खुलेको छ। हाल बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको काम निकै तीव्र गतिमा अगाडि बढिरहेको छ ।

यसको ७० प्रतिशत भौतिक काम सकिएको आयोजनाले जनाएको छ । निर्क अघि ‘ब्रेक–थ्रु’ भइसकेको यो आयोजनामा अहिले रङ्रोगन गर्ने, प्रशासनिक भवनहरुको निर्माण गर्ने, इलेक्ट्रिफिकेशन गर्ने, वायु प्रवाह सुनिश्चित गर्ने, आपतकालिन उपकरणहरुको व्यवस्था गर्ने जस्ता काम चलिरहेको छ ।

यो सुरुङमा नेपालमै पहिलो पल्ट ७८० मिटर लामो ‘रकसेड’ राखिँदै छ । यो भनेको पहिरोबाट ढुंगा आएर बाँकी सडकलाई नथुनोस् र दुर्घटना नहोस् भन्नका लागि सडकमा छानो हाल्ने काम हो । यस्तो छाडो आरसीसी ढलान गरेर वा बलिया फलामहरु राखेर तयार पारिन्छ ।

नेपालीहरुले सुरुङ मार्गको वास्तविक अनुभूति चाहीँ अर्कै परियोजनामा गर्ने छन् । त्यो हो– काठमाडौँ-तराई द्रुतमार्ग । मुलुकको लाइफलाइन मानिएको यो बहुप्रतिक्षित परियोजनामा पनि थुप्रै अत्याधुनिक सुरुङमार्गहरू निर्माणको अन्तिम चरणमा पुग्दैछन्।

यो सडकमा ७१ किलोमिटर यात्रा गर्दा ७ वटा सुरुङ मार्ग छिचोल्नु पर्ने छ । यसको कुल लम्बाई ११ किलोमिटर हाराहारी हुने छ । अर्को १३ किलोमिटरजति पुलहरु नै पर्ने छन् । त्यसैले ७१ मध्ये २४ किलोमिटर कि त पुलमाथि, कि त सुरुङभित्र कुद्नुपर्ने छ ।

द्रुतमार्गमा सबैभन्दा लामो सुरुङको अनुभव महादेव डाँडामा गर्न पाइन्छ, जुन साढे ३ किलोमिटर लामो छ । चन्द्रमभीरमा सवा २ किलोमिटरको सुरुङ पार गर्नुपर्छ, जुन नागढुंगाको बराबरजस्तै हो ।