११ श्रावण २०८३, सोमबार

चुनौतीपूर्ण आर्थिक वर्षमा पनि सानिमा बैंकको बलियो प्रदर्शन, साढे तीन अर्बभन्दा बढी खुद नाफा आर्जन

चुनौतीपूर्ण आर्थिक वर्षमा पनि सानिमा बैंकको बलियो प्रदर्शन, साढे तीन अर्बभन्दा बढी खुद नाफा आर्जन



चुनौतीपूर्ण बजारका बाबजुद सानिमा बैंकले गत आर्थिक वर्षमा आफ्नो व्यावसायिक पकड बलियो बनाउँदै खुद नाफा ३८ प्रतिशतले बढाएर साढे तीन अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ।

काठमाडौँ । अर्थतन्त्रमा देखिएका सुस्तता र शिथिलताका बाबजुद बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कार्यसम्पादनमा कसरी सुधार ल्याइरहेका छन् भन्ने गतिलो उदाहरण सानिमा बैंकको पछिल्लो वित्तीय विवरणले देखाएको छ।

बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अवधिमा निकै उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। बजारमा तरलताको अवस्था र व्यवसायीक गतिविधिमा आएका उतारचढावलाई चिर्दै बैंकले आफ्नो नाफामा ठूलो छलाङ मारेको छ जुन बैंकिङ क्षेत्रका लागि चाखलाग्दो विषय बनेको छ।

विवरणअनुसार समीक्षा अवधिमा बैंकले कुल ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानीमा पनि १० प्रतिशतको सकारात्मक वृद्धि देखिएको छ। अघिल्लो वर्ष ६ अर्ब ३५ करोड रुपैयाँ हाराहारी रहेको यस्तो आम्दानी बढेर गत असार मसान्तसम्म आइपुग्दा ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ पुगेको छ। यसले बैंकको कोर बिजनेस अर्थात् निक्षेप र कर्जाको ब्याजबाट हुने आम्दानीको दायरा फराकिलो बन्दै गएको स्पष्ट पार्छ।

बैंकको समग्र व्यावसायिक आकारलाई नियाल्दा निक्षेप संकलन र कर्जा प्रवाह दुवैतर्फ दोहोरो अंकको वृद्धि हासिल भएको छ। गत असार मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप संकलन ११ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि १० प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँमा पुगेको छ।

बैंकमा पैसा राख्ने बचतकर्ताहरूको विश्वास र बजारमा ऋण लैजाने ऋणीहरूको सक्रियता दुवै बढेका कारण यसले बैंकको वित्तीय चक्रलाई थप मजबुत बनाएको छ। यसरी परिचालन भएको स्रोतको सही व्यवस्थापनका कारण बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत रहेको छ, जुन नियमनकारी सीमाभित्रै रहेर व्यवसाय गर्ने सहज अवस्था हो।

वित्तीय बजारमा लगानीकर्ताहरू सधैँ लाभांश क्षमता कति छ भन्ने विषयमा चासो राख्छन्। यो मामिलामा पनि सानिमा बैंकका सेयरधनीहरूका लागि खुसीको खबर आएको छ। समीक्षा वर्षमा बैंकको वितरणयोग्य नाफा बढेर २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ।

यसको आधारमा हेर्दा बैंकको लाभांश क्षमता २०.८५ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्ष १५.४८ प्रतिशत मात्र रहेको थियो। १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ सञ्चित रहेको छ, जसले बैंकको आन्तरिक वित्तीय सामर्थ्य बलियो रहेको सङ्केत गर्छ।

बैंकको नाफा बढ्नुका साथै यसको सेयरबजारसँग सम्बन्धित सूचकहरूमा पनि उल्लेख्य सुधार आएको छ। नाफामा आएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १८.९४ रुपैयाँबाट उक्लिएर २५.७५ रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात (पी-ई रेसियो) १३.५९ गुणा कायम भएको छ। लगानीमाथिको प्रतिवेदन (आर ओ ई) १४.३९ प्रतिशत पुग्नुले बैंकले आफ्नो लगानीकर्तालाई दिएको प्रतिफल सन्तोषजनक रहेको देखाउँछ।

खराब कर्जाको व्यवस्थापन बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो चुनौती मानिने गरिन्छ । तर सानिमा बैंकले यस क्षेत्रमा पनि उल्लेखनीय सुधार देखाएको छ। गत वर्षसम्म ३.०१ प्रतिशत रहेको बैंकको निष्कृय वा खराब कर्जा अनुपात घटेर २.८७ प्रतिशतमा झरेको छ।

त्यस्तै, खुद खराब कर्जा पनि १.२० प्रतिशतबाट घटेर १.०२ प्रतिशतमा सीमित भएको छ। यसले बैंकले जोखीमयुक्त कर्जा असुलीमा कडाइ गरेको र कर्जा पोर्टफोलियोलाई स्वस्थ राख्न सफल भएको पुष्टि गर्छ। समग्रमा, यी सबै वित्तीय सूचकहरूले सानिमा बैंक आर्थिक वर्ष २०८२/८३ मा निकै सबल र मजबुत स्थितिका साथ उभिएको प्रस्ट्याएका छन्।