११ श्रावण २०८३, सोमबार

अधिक तरलता व्यवस्थापन गर्न आज बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापन गर्न आज बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन ११ गते निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार १७९ दिन अवधिका लागि निक्षेप संकलन गरिनेछ। बोलकबोल प्रक्रिया अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ र त्यसबाट तय हुने ब्याजदरकै आधारमा निक्षेप स्वीकार गरिनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव पेश गर्नुपर्नेछ। त्यसपछि ५ करोड रुपैयाँको गुणनफलमा पर्ने रकमसम्म बोल गर्न सकिने व्यवस्था छ। कुल बोल रकम भने १०० अर्ब रुपैयाँको सीमाभित्र रहनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस निक्षेप संकलन कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गरिनेछ। एउटै ब्याजदरमा आह्वान गरिएको रकमभन्दा बढी माग परेमा समानुपातिक आधारमा रकम वितरण गरिने व्यवस्था गरिएको छ।

स्वीकृत भएका संस्थाको रकम राष्ट्र बैंकमा रहेको खाताबाट स्वतः कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। यदि निष्काशनको दिन खातामा पर्याप्त मौज्दात नरहेमा सम्बन्धित बैंक वा वित्तीय संस्थालाई कालोसूचीमा राखिनेछ र आगामी बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था पनि गरिएको छ।

राष्ट्र बैंकले यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी माघ ८ गते गर्ने जनाएको छ।