नेपाल आउँदैछ स्पोर्ट्स कार जस्तै कुद्ने चेरीको विशाल अफरोड एसयूभी ‘आइकार भी-२७’
काठमाडौँ । नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला अब अफरोड एसयूभी खण्डमा पनि नयाँ तरंग आउने संकेत देखिएको छ।
चिनियाँ अटो निर्माता चेरी अटोमोबाइल ग्रुप अन्तर्गतको नयाँ ऊर्जा सवारी ब्रान्ड आइकारले आफ्नो बहुप्रतीक्षित भी–२७ नेपाल ल्याउने तयारी गरेको छ। एसपीजी अटोमोबाइल्सले आगामी नाइमा मोबिलिटी एक्स्पो मा पहिलोपटक यो एसयूभी सार्वजनिक प्रदर्शन गर्ने तयारी गरिरहेको छ।
हालसम्म नेपाली बजारमा देखिएका अधिकांश विद्युतीय एसयूभीहरू सहर केन्द्रित डिजाइनमा सीमित रहँदा आइकार भी–२७ भने फरक पहिचान बोकेर आउँदैछ। बाक्लो अफरोड शैली, बक्सी डिजाइन, शक्तिशाली हाइब्रिड प्रणाली र लामो दूरी पार गर्न सक्ने क्षमताका कारण यो मोडलले नेपालमा नयाँ वर्गका ग्राहकलाई लक्षित गर्ने अपेक्षा गरिएको छ।
कम्पनी स्रोतका अनुसार भी–२७ अगस्टको पहिलो साताभित्र नेपाल आइपुग्नेछ। त्यसपछि नाइमा मोबिलिटी एक्स्पोमा यसलाई सर्वसाधारणमाझ प्रदर्शन गरिनेछ। कम्पनीले तत्कालै बिक्री सुरु गर्ने वा प्रदर्शनीपछि मात्रै व्यावसायिक बिक्री अघि बढाउने भन्ने विषयमा औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन। यद्यपि, यो मोडललाई नेपालमा ल्याउने निर्णयले चेरी ग्रुपले नेपाली बजारलाई दिएको प्राथमिकता स्पष्ट देखिन्छ।
भी–२७ परम्परागत हाइब्रिड होइन। यसमा एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल प्रविधि प्रयोग गरिएको छ। अर्थात् गाडीको मुख्य शक्ति इलेक्ट्रिक मोटरबाट आउँछ भने १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिनले आवश्यक पर्दा ब्याट्री चार्ज गर्ने ‘रेन्ज एक्सटेन्डर’ को भूमिका खेल्छ। यसले दैनिक यात्रा विद्युतीय मोडमै सम्भव बनाउँछ भने लामो दूरीमा चार्जिङको चिन्ता पनि उल्लेखनीय रूपमा घटाउँछ।
चिनियाँ बजारमा यो मोडल दुईवटा ड्राइभ प्रणालीमा उपलब्ध छ– रियर ह्वील ड्राइभ (आरडीडब्लु) र अल ह्वील ड्राइभ (एडब्लुडी)। नेपालमा कुन संस्करण आउने भन्नेबारे कम्पनीले अहिलेसम्म खुलाएको छैन। तर, उच्च क्षमताको अल ह्वील ड्राइभ संस्करण आएमा यसले नेपाली बजारमा उपलब्ध अधिकांश प्रिमियम एसयूभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएको छ।
अल ह्वील ड्राइभ संस्करणले अधिकतम ३३५ किलोवाट शक्ति र ५०५ न्यूटन–मिटर टर्क उत्पादन गर्छ। यही शक्तिका कारण यो विशाल एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.५ सेकेन्ड मा हासिल गर्न सक्छ। अफरोड क्षमतासँगै स्पोर्ट्स कारजस्तै द्रुत एक्सेलेरेसन हुनु यस मोडलको सबैभन्दा आकर्षक पक्ष मानिएको छ।
ऊर्जाका लागि चेरीले यसमा सीएटीएलद्वारा निर्मित ३४.३ किलोवाट–आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्याक प्रयोग गरेको छ। पूर्ण चार्जमा यसले करिब १४५ किलोमिटर सम्म शुद्ध विद्युतीय यात्रा गर्न सक्छ। त्यसपछि पेट्रोल इन्जिन सक्रिय भई ब्याट्री चार्ज गर्ने भएकाले पूर्ण इन्धन ट्याङ्की र ब्याट्रीसहित करिब १,२०० किलोमिटर सम्मको संयुक्त यात्रा सम्भव हुने कम्पनीको दाबी छ। लामो दूरीको यात्रा गर्ने प्रयोगकर्ताका लागि यो विशेषता निकै उपयोगी मानिएको छ।
आकारका हिसाबले पनि भी–२७ निकै प्रभावशाली छ। यसको लम्बाइ ५,०५५ मिलिमिटर, चौडाइ १,९७६ मिलिमिटर, उचाइ १,८९४ मिलिमिटर तथा ह्वीलबेस २,९१० मिलिमिटर रहेको छ। यसले विशाल केबिन, पर्याप्त लेगरुम र ठूलो लगेज क्षमता उपलब्ध गराउने अपेक्षा गरिएको छ। सात सिटको लेआउट उपलब्ध हुने सम्भावना पनि अन्तर्राष्ट्रिय बजारका विवरणले देखाएका छन्।
चेरीले भी–२७ लाई केवल बलियो अफरोड एसयूभीका रूपमा मात्रै नभई ‘स्मार्ट एसयूभी’ का रूपमा पनि विकास गरेको छ। यसमा होराइजन जर्नी ६–पी (Horizon Journey 6P) उच्च क्षमताको कम्प्युटिङ चिप प्रयोग गरिएको छ, जसले सवारीका डिजिटल प्रणालीलाई उच्च गति र स्थिरता प्रदान गर्छ। उन्नत चालक सहायता प्रणालीका लागि कम्पनीले फाल्कन ७०० (Falcon 700) एडीएएस प्लेटफर्म समावेश गरेको छ, जसले विभिन्न बुद्धिमान सुरक्षा तथा ड्राइभिङ सहायक सुविधालाई समर्थन गर्छ।
चेरी ग्रुपले पछिल्ला केही वर्षयता नयाँ ऊर्जा सवारी क्षेत्रमा आक्रामक विस्तार गरिरहेको छ। विशेष गरी आइकार ब्रान्डमार्फत युवा पुस्ता र साहसिक जीवनशैली रुचाउने ग्राहकलाई लक्षित गर्दै नयाँ मोडलहरू सार्वजनिक गरिरहेको छ। भी–२७ त्यही रणनीतिको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक मानिन्छ।
नेपालमा विद्युतीय सवारीको लोकप्रियता तीव्र गतिमा बढिरहेका बेला भी–२७ को आगमनले अफरोड र प्रिमियम हाइब्रिड एसयूभी खण्डमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।













