१२ श्रावण २०८३, मंगलबार

ग्रिनप्लाई नेपाल आईपीओ जारी गर्ने तयारीमा, २० प्रतिशत शेयर सर्वसाधारणलाई



काठमाडौं । नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने प्रस्ताव अघि बढाएको हो।

आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्न कम्पनीले २०८३ साउन २२ गते विराटनगरस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा बोलाएको जनाएको छ। कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको थियो।

आईपीओ प्रक्रियासँगै कम्पनीले संस्थापक शेयरको प्रिमियम मूल्य निर्धारण सम्बन्धी प्रस्ताव पनि विशेष साधारण सभामा लैजाने तयारी गरेको जनाएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा बिक्री अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ। कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको दाबी गरिएको छ।

ग्रिनप्लाई नेपालले उत्पादनको करिब ३० प्रतिशत स्वदेशी बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ। कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको छ भने भारतीय बजारमा उत्पादन बिक्रीका लागि आवश्यक BIS Certification पनि प्राप्त गरेको जनाएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा यसको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ। यस अवधिमा ६ करोड रुपैयाँ नयाँ शेयर पूँजी थपिएको तथा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुसार सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति (Net Tangible Assets) करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको छ।

ग्रिनप्लाई नेपालले गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड र फ्लस डोर उत्पादन गर्दै आएको छ। कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, अत्याधुनिक प्रविधिमा लगानी तथा नवप्रवर्तनमार्फत दीर्घकालीन वृद्धि हासिल गर्ने रणनीति लिएको जनाएको छ। साथै आयात प्रतिस्थापन र निर्यात विस्तारमार्फत उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य रहेको पनि कम्पनीको भनाइ छ।

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको ग्रिनप्लाई नेपाल लिमिटेडका अध्यक्ष उद्योगी जीवनप्रसाद रिजाल रहेका छन्। कम्पनीमा दिवाकर राठी, डगेन्द्र प्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल र विवेक अग्रवाललगायतको मुख्य लगानी रहेको छ। साथै स्टार इन्भेष्टमेन्ट फण्ड लिमिटेड, टप फण्ड लिमिटेड तथा हार्वेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ।