१३ श्रावण २०८३, बुधबार

सामाजिक सद्भाव बचाउन दलहरूको संयुक्त अपिल, ‘सरकारले जिम्मेवारी पूरा गरिरहेको छ’- लामिछाने



मुलुकको वर्तमान असहज परिस्थिति र सामाजिक सद्भाव खल्बलिने जोखिम टार्न प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएका छन्।

काठमाडौँ । मुलुकमा देखिएको हालको असहज राजनीतिक र सामाजिक परिस्थितिलाई सामान्य बनाउन तथा आपसी सद्भाव कायम राख्न सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबै दलहरूबीच समान धारणा बनेको बताएका छन्।

बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान घटनाक्रमका विषयमा साझा दृष्टकोण तय गर्न र निकास खोज्न शीर्ष नेताहरूबीच गम्भीर छलफल भएको जानकारी दिएका हुन्।

पछिल्लो समय उत्पन्न घटनाक्रम र सरकारको भूमिकालाई लिएर उठेका विभिन्न प्रश्नहरूको सन्दर्भमा यो बैठक विशेष रूपमा केन्द्रित रहेको उनको भनाइ छ।

दलहरूले आ-आफ्नोतर्फबाट दृष्टिकोण बनाउँदै सरकारलाई आवश्यक मार्गनिर्देशन गर्न र ध्यानाकर्षण गराउन बैठक आयोजना गरिएको उनले स्पष्ट पारे।

‘साम्प्रदायिक सद्भाव खल्बलिन दिनु हुँदैन’

सभापति लामिछानेले कुनै पनि बहानामा सामाजिक तथा साम्प्रदायिक सद्भावमा आँच आउने गतिविधि हुन नहुने बताएका छन्।

एक समुदायले अर्को समुदायप्रति घृणा, द्वेष वा आक्रमण गर्ने प्रवृत्ति देशको हितमा नरहेको उल्लेख गर्दै उनले यस्ता संवेदनशील विषयमा सबै राजनीतिक दलहरू दलीय सीमाभन्दा माथि उठे एकजुट हुनुपर्नेमा जोड दिए।

छलफलको निष्कर्षबारे जानकारी दिँदै उनले छिट्टै नै सबै दलहरूको संयुक्त सहकार्यमा एउटा साझा अपिल सार्वजनिक गरिने समेत बताए। विशेष गरी सुनसरी लगायतका जिल्लाहरूमा हालै भएका प्रदर्शनका घटनाहरूप्रति गम्भीरता प्रकट गर्दै उनले तिनको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिनको माग गरे।

चर्का कुराभन्दा संयमताको खाँचो

विगतका आन्दोलनहरू र अहिलेको परिस्थितिको स्वरूप फरक रहेको औंल्याउँदै लामिछानेले नागरिकको ज्यान गएको यस संवेदनशील घडीमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताए।

आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा पनि नागरिकको जीवनरक्षा र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको पहिलो र मुख्य दायित्व भएको उनको भनाइ थियो।

प्रधानमन्त्री र गृहमन्त्रीले आ-आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा कसले के बोल्यो भन्दा पनि सामाजिक सद्भाव कसरी जोगाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए।

उनले सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै अहिलेको समय चर्का कुरा गर्ने नभई संयमता अपनाउने बेला भएको स्पष्ट पारे।