१३ श्रावण २०८३, बुधबार

हिमाल डेन्टलले आईपीओ निष्कासन प्रक्रिया अघि बढायो



काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले साधारण शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।

आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रिया अघि साारेको हो । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्र प्रसाद भट्ट तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मी प्रसाद प्रसाईं तथा डा. निरञ्जन आचार्यको समेत उपस्थिति रहेको थियो ।

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले विगत दुई दशकदेखि दाँत तथा मुखसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हाल हस्पिटलले काठमाडौंको धुम्बाराही, चाबहिल, कमलादी र साँखु गरी चार स्थानबाट सेवा सञ्चालन गरिरहेको छ ।

हस्पिटलले बिरामीको आवश्यकता अनुसार रुट क्यानल उपचार, मुख तथा अनुहारसम्बन्धी शल्यक्रिया, सामुदायिक दन्त चिकित्सा, गिजासम्बन्धी उपचार, कृत्रिम दाँत तथा पुनःस्थापना सेवा, दाँत मिलाउने उपचार, बाल दन्त सेवा, दाँत संरक्षण तथा जरासम्बन्धी उपचारलगायतका विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी हस्पिटलमा दाँत प्रत्यारोपण सेवा, अत्याधुनिक शल्यकक्ष, त्रि–आयामिक दन्त एक्स–रे, आधुनिक दाँत निर्माण उपकरण, लेजर प्रविधिबाट उपचार तथा अन्य आधुनिक सुविधा उपलब्ध छन् । बिरामीको सहजताका लागि एम्बुलेन्स सेवा पनि सञ्चालनमा रहेको छ । आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत एउटै संस्थाबाट आवश्यक सम्पूर्ण दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ हस्पिटलले निरन्तर आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ ।

स्वास्थ्य सेवासँगै गुणस्तरीय दन्त शिक्षा प्रदान गर्दै आएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त संस्था हो । सन् २००८ मा स्थापना भएको यस संस्थाले हालसम्म १९ औँ ब्याचसम्म अध्ययन सञ्चालन गरिसकेको छ र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

संस्थाले आगामी दिनमा गैरआवासीय नेपाली तथा विदेशी बिरामीलाई लक्षित गर्दै दन्त स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने, सम्पूर्ण सेवा प्रणालीलाई कागजरहित र डिजिटल बनाउने, एकल स्वामित्वबाट संस्थागत संरचनामा रूपान्तरण गर्ने, धुम्बाराहीमा थप भवन निर्माण गरी दन्त चिकित्सा, जनस्वास्थ्य, दन्त प्रयोगशाला, नर्सिङ, प्रयोगशाला तथा फार्मेसीसम्बन्धी प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने, शाखा तथा फ्रेन्चाइजमार्फत देशभर सेवा विस्तार गर्ने, अत्याधुनिक उपकरण तथा नयाँ प्रविधिमा लगानी बढाउने तथा विशेषगरी ग्रामीण क्षेत्रमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालनलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको जनाएको छ ।

हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले स्वास्थ्य सेवा र शिक्षालाई सँगसँगै अघि बढाउँदै देशका विभिन्न क्षेत्रमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्ति उत्पादन तथा आधुनिक प्रविधिमार्फत नेपालको दन्त स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ ।