यस्ता छन् मन्त्रीपरिषद्को बैठकका ४ निर्णय
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। आजको मन्त्रिपरिषद् बैठकबाट कानुन, सहकारी, विदेशी विनिमय अनुसन्धान र प्राविधिक शिक्षासम्बन्धी चार महत्वपूर्ण निर्णय भएका छन।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले विभिन्न नौ वटा विधेयक संघीय संसदमा दर्ता तथा पेश गर्न स्वीकृति दिएको छ। त्यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा ऐडराज दाहाललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यसैबीच, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ लाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ।
यस्ता छन् मन्त्रीपरिषद्को बैठकका निर्णय
१) देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्मा पेश गर्नका लागि स्वीकृति दिने :
–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
–खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
–संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
–राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।
–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।
–बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।
–आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
–मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।
–कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।
२) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।
३) समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाललाई मनोनयन गर्ने ।
४) प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने ।













