१४ श्रावण २०८३, बिहिबार

मुरारका समूहकाे लगानी रहेकाे श्रीराम रिफाइनको व्यापार बढ्यो, ९ महिनामै तोड्यो कीर्तिमान



काठमाडौं । चार दशकभन्दा लामो इतिहास बोकेको श्री राम रिफाइन आयल प्रोडक्ट्स प्रालिले पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण व्यापारिक अवस्थापछि पुनः उल्लेखनीय सुधार हासिल गरेको छ। विशेषगरी भारततर्फको निर्यात सहज बनेपछि कम्पनीको व्यापारमा उछाल देखिएकाे छ।

चालु आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामै ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो रकम आर्थिक वर्ष २०२५ को पूरै वर्षको २ अर्ब ६ करोड १० लाख रुपैयाँको तुलनामा करिब ५६.१ प्रतिशत बढी हो। साथै, यो कम्पनीको पछिल्ला चार वर्षयताकै उच्च व्यापारसमेत हो।

पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण व्यापारिक अवस्थाबाट गुज्रिएको कम्पनीले विशेषगरी भारततर्फको निर्यात सहज बनेपछि पुनः उल्लेखनीय सुधार हासिल गरेको हो।

आर्थिक वर्ष २०२३ मा कम्पनीले २ अर्ब ३४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। त्यसपछि भारतको आयात नीतिमा आएको परिवर्तनका कारण आर्थिक वर्ष २०२४ मा व्यापार घटेर ६२ करोड रुपैयाँमा सीमित भएको थियो। तर, आर्थिक वर्ष २०२५ मा व्यापार पुनः उकालो लाग्दै २ अर्ब ६ करोड १० लाख रुपैयाँ पुगेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामै त्यसलाई समेत उछिन्दै नयाँ कीर्तिमान कायम गरेको छ।

व्यापार उल्लेख्य रूपमा बढे पनि सञ्चालन नाफामा भने केही दबाब देखिएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ को ७.४५ प्रतिशतबाट घटेर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ५.५७ प्रतिशतमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा खाद्य तेलको मूल्यमा भएको उतारचढाव, ढुवानी खर्च वृद्धि तथा भूराजनीतिक परिस्थितिका कारण सञ्चालन नाफा प्रभावित भएको कम्पनीको प्रतिवेदनमा उल्लेख छ।

यद्यपि, कम्पनीको ऋण तिर्ने क्षमता भने सन्तोषजनक रहेको देखिएको छ। ब्याज भुक्तानी गर्ने क्षमता आर्थिक वर्ष २०२५ को ५.२१ गुणाबाट बढेर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ५.३४ गुणा पुगेको छ। त्यस्तै, ऋणको साँवा र ब्याज दुवै भुक्तानी गर्न सक्ने क्षमता पनि ४.६५ गुणा रहेको प्रतिवेदनमा उल्लेख छ, जसले कम्पनीको ऋण व्यवस्थापन सुदृढ रहेको संकेत गर्छ।

बिक्री संकलन प्रक्रियामा सुधार गर्दै प्रमुख ग्राहकहरूलाई नगदमा सामान बिक्री गर्न थालेपछि कम्पनीको कार्यसञ्चालन चक्रमा उल्लेखनीय सुधार आई सन् २०२४ को १६४ दिनबाट घटेर सन् २०२५ मा ४८ दिनमा सीमित भएको छ।

कम्पनीले हाल २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक ऋण सुविधा उपयोग गरिरहेको छ। उक्त अल्पकालीन ऋण दायित्वका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ए फोर प्लस क्रेडिट रेटिङ प्रदान गरेको छ।

यस कम्पनीले विशेषगरी भटमास र पाल्मोलिनको कच्चा तेल आयात गरी प्रशोधन गर्ने गर्दछ। मोरङको विराटनगरमा उद्योग रहेको यस कम्पनीले यी दुवै प्रकारका प्रशोधित खाद्य तेलहरू कुबेर ब्राण्ड नाममा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले यो ब्राण्डका तेलहरू नेपाली आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत ठूलो परिमाणमा बिक्री गर्ने गरेको छ ।

सन् १९८३ मा स्थापना भएको यो कम्पनीले मोरङको विराटनगरमा वार्षिक ४५ हजार मेट्रिक टन भटमासको तेल र ४५ हजार मेट्रिक टन पाल्मोलिन तेल प्रशोधन गर्ने क्षमतासहित उद्योग सञ्चालन गरिरहेको छ।मुरारका समूहद्वारा प्रवर्द्धित यस कम्पनीको स्वामित्व अशोक कुमार मुरारका, प्रदीप कुमार मुरारका, पशुपति मुरारका र महेश कुमार मुरारकामा बराबर हिस्सामा रहेको छ।